श्रीमतीका लागि औषधि लिन हिँडेका साहको इनारभित्र शव फेला

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहीबार बिहान इनारभित्र फेला परेको छ ।

श्रीमतीका लागि औषधि लिन जाने क्रममा हिजो बुधबार साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो । ‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु’ भन्दै साइकलमा गएका उनी राति अबेरसम्म पनि नफर्किएपछि खोजतलाश गर्ने क्रममा आज बिहान गाउँ नजिकैको इनारभित्र साइकलसहित उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले साहको शव इनारभित्रबाट बाहिर निकाल्ने प्रयास भइरहेको जानकारी दिएका छन् ।मृतकका परिवारजनले हत्या गरी इनारमा फालिएको दाबी गर्दै दोषी पत्ता लगाई कारबाही गर्न माग गरेका छन् । शंकास्पद देखिएको हुँदा घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ बुढाथोकीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *