जिसस ललितपुरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी निर्विरोध

काठमाडाैँ । ललितपुर जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका नेता ऋषि फुयाँल सर्वसम्मत भएका छन् । बुधबार जिससको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता भएकोमा नेकपा एमालेले उम्मेदवारी नै दर्ता नगराएपछि कांग्रेसका फुयाँल निर्विरोध निर्वाचित भएका हुन् ।

६ स्थानीय तह रहेको ललितपुरमा कांग्रेस एक्लैको पक्षमा बहुमत भएपछि एमालेले उम्मेदवारी दिएन भने कांग्रेसले स्थानीय तहमा चुनावी गठबन्धन गरेको नेकपा माओवादी केन्द्रलाई जिससमा पनि समेटेको हो ।

कांग्रेस र माओवादी केन्द्रले जिससमा तालमेल गरेर मनोनयन दर्ता गराएका हुन् । १२ मतदाता रहेकोमा कांग्रेसका ७ र माओवादी केन्द्रका २ मतदाता रहेका छन् भने एमालेका ३ मतदाता छन् । एमालेबाट उम्मेदवारी नपरेपछि कांग्रेस–माओवादी गठबन्धन मनोनयन दर्ता भएका उम्मेदवार निर्विरोध चयन भएका हुन् ।

जिसस प्रमुखमा कांग्रेस नेता फुँयाल निर्वाचित भएका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रामलाल थिङ निर्वाचित भएका छन् । त्यस्तै खुला सदस्यमा दिनेश घोरासैनी (कांग्रेस), हरिहर कार्की (कांग्रेस), सादुराम श्रेष्ठ ( माओवादी केन्द्र) निर्वाचित भएका छन् ।

अल्पसंख्यकबाट सुवेरबहादुर पहारी (कांग्रेस), महिला सदस्यमा शोभा महर्जन (माओवादी केन्द्र), महिला सदस्यमा कांग्रेसबाट गीता खड्का र शोभा कार्की निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध निर्वाचित जिसस पदाधिकारी र सदस्यलाई बिहीबार पदभार ग्रहण गराउने कार्यक्रम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *