प्रचण्डलाई जब साेधियाे, ७५३ बालेन र हर्कहरू जन्मिए भने के हुन्छ ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राजधानीमा गरेकाे जनप्रतिनिधि अभिमुखीकरण तथा प्रशिक्षणमा पार्टी प्रणालीकाे भविष्यबारे प्रश्न उठेकाे छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका शीर्ष र दोस्रो तहका नेताहरू तथा देशभरबाट आएका जनप्रतिनिधिहरू सहभागी प्रशिक्षण कार्यक्रममा देशैभरबाट बालेन र हर्कहरू जन्मिए आफूहरूकाे भविष्य के हुने भन्ने प्रश्न उठेकाे छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्थानीय तह विभागका उपप्रमुख प्रकाश विकल्पले यस्ताे प्रश्न उठाएका हुन् ।
उनले काठमाडौँ महानगरपालिका र धरान उपमहानरपालिकाको मेयरमा बालेन्द्र शाह र हर्क राईहरू उदाउने कुरा चानचुने चुनौती नभएको बताएका हुन् । मञ्जमा बसिरहेका प्रचण्डतर्फ इंगित गर्दै उनले भने, ‘आज दुईजना बालेन र हर्क राई जन्मिएका छन् । भोलि ७५३ जना बालेन र हर्क राईहरू जन्मियो भने के हुने ? के हुन्छ हाम्रो अवस्था ?’
त्यस्तै, उनले राजेन्द्र लिङ्देनहरूकाे पक्षमा जनमत बढ्नु चानचुने कुरा नभएकाे उल्लेख गरे । ‘अब कसैले यो गणतन्त्रमाथि धावा बोल्छ र राजेन्द्र लिङ्देनहरूजस्ता मान्छेहरूको जनमत बन्छ भने कमरेडहरू सिंगो माओवादी केन्द्रजस्ता क्रान्तिकारी पार्टी र यसका सदस्यहरूलाई दोष जानुपर्छ,’ उनले भने, ‘किनभने व्यवस्था बिग्रियो भने अगुवा दोषी हुन्छ।’
उनले थपे, ‘त्यसकारण हामीले डे वान देखि सोचौं, राजेन्द्र लिङ्देनहरूको जनमत बढ्ने कुरा हामी परिवर्तनकारीका लागि चानचुने कुरा होइन ।’
प्रचण्डले भने, बिग्रे पनि सप्रे पनि हामी नै हाैँ
स्थानीय तथा उपप्रमुखले राखेकाे कुरामा टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले स्वतन्त्रले नै देश चलाउँछन् भन्ने भ्रममा नपर्न आग्रह गरे । स्वतन्त्र उम्मेदवारको जित अपवादमात्रै भएको उल्लेख गर्दै उनले भने, ‘उहाँहरू कुनै न कुनै रूपमा पार्टीसँग समन्वय गरेर अगाडि बढ्न सक्ने स्थिति हुन्छ । यो देशमा पार्टी सिस्टम कमजोर बन्ने स्वतन्त्रको राज्य चल्ने भन्ने कुरा यो विल्कुल हुन सक्ने कुरा होइन । बिग्रे पनि सप्रे पनि अबका धेरै दशकसम्म पार्टीहरूले नै राज गर्नेछन्।’








