बलात्कारमा परेकी १६ वर्षीया किशोरीको पेटमा ८ महिनाको गर्भ

काठमाडाैँ । बैतडीको मेलौनीकी १६ वर्षीया एक किशोरी को पेटमा ८ महिनाको गर्भ रहेको पाइएपछि उनी बलात्कारमा परेको खुलेको छ । दशरथचन्दस्थित जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १६ वर्षीया किशोरी पेटमा ८ महिनाको गर्भ रहेको पुष्टि भएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार किशोरीका अभिभावकले ३ महिना अगाडि उनी बलात्कृत भएको भन्दै जेठ १४ गते प्रहरीमा उजुरी दिएका दिए । तर, परीक्षणको क्रममा उनको पेटमा ८ महिनाको शिशु रहेको खुलेको हो ।
किशोरीमाथि गत फागुनमा स्थानीय २२ वर्षीय अशोक बहादुर चन्दले जबरजस्ती करणी गरेको भन्दै पाँच दिनअघि मात्रै अभिभावकले प्रहरीमा उजुरी गरेका हुन् । तर, परीक्षणको क्रममा ८ महिनाको गर्भ रहेको खुलेपछि अशोकले आफूलाई गएको कात्तिकमै बलात्कार गरेको जानकारी किशोरीले गराएकी छन् । त्यसपछि पनि आफूलाई डर त्रासमा पारेर अशोकले पटकपटक करणी गर्दै आएको किशोरीको भनाइ छ ।
उसले जबरजस्ती गरेपनि कसैलाई भने ज्यान मार्ने धम्की दिएको कारण आफूले कसैलाई नभनी सहँदै आएको किशोरीले बताएकी छन् । किशोरी गर्भवती भएको खुलेपछि आरोपी अशोक बहादुर चन्द फरार भएका छन् । उनको खोजी र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।








