दलहरूसँग कार्यक्रम नहुँदा देश घाटामा छ, राष्ट्रिय चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् : राजनीतिक विश्लेषक शर्मा (भिडिओवार्ता)

काठमाडौँ । राजनीतिक विश्लेषक डा. केपी शर्मा पाँचदलीय गठबन्धन कांग्रेसकै बलमा टिकिरहेकाे विश्लेषण गर्छन्, भन्छन्— ‘वामपन्थी दलहरू मिल्न नदिने नीति लिएका छन् शेरबहादुर देउवाले । उनी यही गठबन्धनलाई निरन्तरता दिने ध्येयमा छन् । एक हिसाबले भन्ने हाे भने याे गठबन्धन कांग्रेसकै बलमा टिकिरहेकाे हाे ।’

‘स्थानीय निर्वाचन आंशिकरूपमा मात्रै सफल भयो’

शर्मा स्थानीय तह सदस्यको निर्वाचन आंशिकरूपमा मात्रै सफल भएको बताउँछन् । त्यो कुरा मतदाताहरूको सहभागिताले पनि देखाएको उनी बताउँछन् । ‘२०७४ सालको निर्वाचनमा ७० प्रतिशतभन्दा बढीले मतदानमा भाग लिएका थिए भने अहिलेको निर्वाचनमा पुगअपुग ६३ प्रतिशतले भाग लिएका छन्,’ उनले भने, ‘यसले पनि यो निर्वाचनको सफलतालाई निर्धारण गर्छ ।’

उनले एमालेलाई यो निर्वाचनमार्फत जनताले दण्डित गरेको बताए । ‘खासगरी एमालेलाई यो निर्वाचनमा जनताले चेतावनी दिएका छन्,’ उनले भने, ‘जनताले एमालेलाई अब तिमी सुध्रिनुपर्छ भनेर दण्डित गरेका छन् । अब एमालेमात्रै नभइ दलहरू सुध्रिने बेला आएको छ । जनताहरू अब पहिलेजस्ताे छैनन् ।’

विश्लेषक शर्मा यो निर्वाचनमा मतदाताले दलहरूप्रतिको वितृष्णा देखाएको जिकिर गर्छन्, भन्छन्— ‘यसपटक स्वतन्त्ररूपमा धेरै जना युवा साथीहरूले जित्नुभयो । यसलाई सहर्ष स्वीकार्नुपर्दछ र यो भनेको नेपाली जनताको दलहरूप्रतिको वितृष्णा हो ।’

नेपाली जनता अब पहिलेजस्तो सामान्य बुद्धिकाे नरहेको सन्देश पनि यो निर्वाचनले दिएको बताउँछन् शर्मा । उनी भन्छन्, ‘साँच्चै भन्ने हो भने यो निर्वाचनले गूड् मेसेज दिएको छ । अब दलहरू सचेत हुनैपर्छ । नभए नेपालमा पनि केजरीवालहरूको जन्म हुन्छ भन्ने कुरा अब दलहरूले बुझ्नुपर्छ । याे निर्वाचनमा त्याे जनमत प्रकट भएकाे छ । यसलाई दलहरूले बेवास्ता गर्नुहुन्न ।’

उनले बालेन शाह, हर्कराज राईहरूले पाएको मत ‘राईट टू रिजेक्टक्सन’ को मत भएको बताए ।

‘आफ्नो प्रतिनिधिलाई दलहरूले कार्यक्रम दिनुपर्छ’

शर्माले राजनीतिक दलहरूसँग कार्यक्रम नै नभएको टिप्पणी गरेका छन् । दलहरूले कार्यक्रम तय गर्नै नसकेको उल्लेख गर्दै उनले भनेका छन्, ‘दलहरूले अनुसन्धान गर्दैनन्, त्यसो भएपछि कहाँ, के, कसरी केही पनि थाहा हुँदैन । यसपछि दलहरूलाई केही पनि थाहा हुँदैन । अब कुनै पनि दलबाट नेता मन्त्री भएर उसले गर्नेचाहिँ के ?’
दलका कार्यालयहरूमा अनुसन्धान विभाग हुनुपर्ने विश्लेषण शर्माको छ, भन्छन्— ‘दलका कार्यालयहरूमा अब कुनै पनि सङ्गठनको बाेर्ड/कार्यालय नभइ अनुसन्धान विभागहरू हुनुपर्दछ । यसो भएमात्रै दलहरूले आफ्नो कार्यक्रम तय गर्न सक्छन् । अहिले तपाईं एमालेको कुरा गर्नुस्, कांग्रेसको कुरा गर्नुस्, माओवादीको कुरा गर्नुस् । कोहीसँग कार्यक्रम छैन । यसो हुँदा हाम्रो देश उही गतिमा छ पहिल्यैदेखि । देश घाटामा चलेकाे छ ।’

दलहरूले आफ्नो तर्फबाट निर्वाचित प्रतिनिधिहरूलाई कार्यक्रम दिएर पठाउनुपर्ने उनी बताउँछन् । ‘निर्वाचित बनेका नेताहरूलाई दलहरूले कार्यक्रम दिएर पठाउनुपर्छ,’ शर्माले भने, ‘त्यसपछि मात्रै त्यो प्रतिनिधिले काम गर्न सक्छ । नेपालमा त्यो संस्कार नै छैन । यदि त्यसो भएमा मात्रै नेपालको भावी सम्भावनाहरू दह्रो भएर आउँछन् ।’

उनले कार्यक्रमबिनाका प्रतिनिधि तेलबिनाका गाडीजस्तो भएको टिप्पणी गरे । ‘दलहरूसँग गाडी छ तर, तेल छैन । अनि कसरी हिँड्छ, गुड्छ त्यो गाडी ?,’ शर्माको प्रश्न छ ।

‘वामएकता निश्चित छ’

शर्मा पुनः वामएकता चाँडै हुने विश्लेषण गर्छन् । त्यसो त वामपन्थी दलहरूबीच त्योखाले वार्तासमेत शुरू भएको सत्य हो । सतहीरूपमा हेर्दा दलका शीर्ष नेताहरूबीचको तिक्तता उस्तै रहेपनि दोस्रो तहका नेताहरूबीच वार्ता शुरू भइसकेको छ । शर्मा पनि यही दृष्टान्त सुनाउँदै थप्छन्, ‘यो एकता सम्भवतः राष्ट्रिय चुनावअगाडि नै पनि हुनसक्छ । नभए पनि चुनावपछि त पक्कै हुन्छ । यो त निश्चित नै हो ।’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल केपी शर्मा ओलीलाई ‘साईज’मा झार्ने र एकता गरेर एकीकृत वामपन्थी दलको नेतृत्व गर्ने दाउमा रहेको उनी बताउँछन्, भन्छन्— ‘र, यो सम्भव पनि छ । यसो अहिले हेर्दाखेरी ओली पनि ठिक ठाउँमा आउँदैछन् जस्तो लाग्छ । यो चुनावले उनलाई आफ्नो राजनीतिक हैसियत देखाएको छ । अब यसबाट दोस्रो तहका नेताहरूको आग्रहलाई मान्दै उनी पुनः वामएकताका लागि तयार हुनेछन् ।’

यसको नेतृत्व प्रचण्डले गर्न सक्ने आकलन शर्माको छ । प्रचण्ड नेपाली राजनीतिमा जत्तिबेला पनि निर्णायक देखिँदै आएको तथ्य स्मरण गर्दै उनले भने, ‘माओवादी अहिले पनि तेस्रो शक्ति हो र नेपालको राजनीतिमा जोचाहिँ तेस्रो शक्ति हुन्छ, त्यसैको हातमा सत्ताको चाबी हुने गरेको छ । यसरी हेर्दा प्रचण्ड नै अब पनि निर्णायक हुने देखिन्छ । वामएकतापछिको नेतृत्व उनी नै खडा हुन पनि सक्छन् ।’

‘राष्ट्रिय चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन्’

विश्लेषक शर्मा अबको सत्ताको चाबी प्रचण्डसँग हुने विश्लेषण गर्छन् । प्रचण्ड नेपाली राजनीतिक म्यारीज खेलको जोकर भएको उनी बताउँछन् । ‘म्यारीज खेलमा जोकर हुन्छ, जुनचाहिँ सीक्वेन्समा जहाँ पनि मिल्छ । नेपाली राजनीतिमा प्रचण्ड त्यस्तै हुन् । उनी आवश्यक्ताअनुसार जहाँ पनि मिल्न सक्छन् । एमालेसँग मिले पनि सरकार त्यसैको बन्छ, कांग्रेससँग मिल्नुभयो भने पनि सरकार त्यसकै बन्छ । त्यसो हुँदा उहाँ नै अबको निर्णायक देखिनुहुन्छ ।’

उनले प्रचण्डको दुवै हातमा लड्डु भएको बताए । ‘उहाँले एमालेलाई देखाएर कांग्रेससँग ‘सत्ताको बार्गेनीङ्ग’ गर्न सक्नुहुन्छ र आफूलाई नेतृत्व दिए कांग्रेससँग बस्न पनि सक्नुहुन्छ र एमालेले स्वीकारे त्यता पनि जान सक्नुहुन्छ । त्यसैले उहाँ अबको प्रधानमन्त्रीको प्रत्याशी पनि हुनुहुन्छ । यो चाँडो वा ढिलो हुन्छ ।’

प्रतिक्रिया

One thought on “दलहरूसँग कार्यक्रम नहुँदा देश घाटामा छ, राष्ट्रिय चुनावपछि प्रचण्ड प्रधानमन्त्री बन्न सक्छन् : राजनीतिक विश्लेषक शर्मा (भिडिओवार्ता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *