संसद्मै हात चाटेर महतले गरे एमालेमाथि व्यङ्ग्य (भिडिओसहित)

काठमाडाैँ । सांसद गजेन्द्रबहादुर महतले संसद्मा हात चाटेर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकाे व्यङ्ग्य गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित भएका जुम्ली सांसद महतले संसद्मा बजेटमाथि भएकाे सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेमाथि व्यङ्ग्य गरेका हुन् ।
उनले अहिले एमाले हिउँदे याममा खान नपाएको वनको भालुजस्तै भएकाे उल्लेख गर्दै भने, ‘हाम्रो जुम्लातिर भालु हुन्छ । वर्षायाममा मह, मेल, स्याउ, ओखर, आलु र मकै खाएको हुन्छ । हिउँदयाम लागेपछि केही खान पाउँदैन । हिउँद लागेपछि केही खान पाउँदैन । अनि वर्षायाममा मेल खाएको हात, स्याउ ओखर र आलु खाएको हात चाटिरहन्छ रे । अहिले एमालेलाई त्यस्तै भएको छ ।’
उनले त्यसअघि भने, ‘हिउँदे याममा केही खान पाइँदैन नि, प्रतिपक्ष पनि अहिले त्यस्तै भएको छ । बजेटबारे प्रतिक्रिया आइरहेको छ म धेरै यसतिर जान चाहन्नँ तर प्रतिपक्षचाहिँ हाम्रो कर्णालीतिरको खान नपाएको भालु जस्तै भएको छ ।’








