संसदकाे विकास तथा प्रविधि समितिले भन्याे- गुरुयोजना बनाएर मात्रै रेल परियाेजना अघि बढाउनू

काठमाडाैँ । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले रेल पूर्वाधार आयोजनाको सुरुवात भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाई काम अघि बढाइएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।

राष्ट्रिय महत्वका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका बनाई प्राथमिकताका आधारमा गुणस्तरिय रूपमा आयोजना अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

उनले जयनगर जनकपुर कुर्था बर्दिबास हुदै निगजढसम्मको निर्माणाधिन रेल पूर्वाधारको प्रारम्भीक ट्रयाकमा गुणस्तरको कमी देखिएको भन्दै उपयुक्त समयमा स्थलगत अनुगमन गरिने बताइन् ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गुरुयोजना नवनाई आयोजना सुरु गर्दा समस्या देखिएको बताए । बर्दिबास हुदै निगजढसम्मको निर्माणाधिन रेल सरकारको प्राथमिकतामा रहेको र काठमाडौं रक्सौल रेलमार्गमा पनि थप अध्ययन भइरहेको उनले जानकारी दिए । उनले काकडभित्तामा रेगमार्ग निर्माणमा भने केहि समस्या देखिन सक्ने बताए ।

त्यस्तै रेल विभागका महानिर्देशक दिपक कुमार भट्टराईले बर्दिबास हुदै निगजढसम्मको ७० किलोमिटर ट्रयाक निर्माण कार्य भइरहेको हालसम्म ३२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । यसमा २५ अर्व ९० करोड खर्च भइसकेको उनको भनाई छ ।

बैठकमा समिति सदस्यहरूले रेल मार्ग निर्माणमा कार्यमा उल्लेखीय प्रगति हुन नसकेको बताएका थिए । रेल तथा मेट्रो रेल विकास आयोजनाको वर्तमान अवस्थाको सम्बन्धमा समितिले छलफल गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =