इलाममा सरकारी वनमा निजी स्तरको फनपार्क निर्माण गरिएको भन्दै विरोध

काठमाडौँ । इलामको माई नगरपालिकामा सामुदायिक वन मासेर निजी स्तरबाट फनपार्क निर्माण गरिएकामा नेपाली कांग्रेस इलाम जिल्ला कार्यसमितिले आपत्ति जनाएको छ।

नेपाली कांग्रेसको इलाम जिल्ला कार्यसमितिले विज्ञप्ति जारी गरी निजी स्तरले सामुदायिक वन मासेको आरोप लगाएको हो। माई नगरपालिका–२ र ८ मा अविस्थत ह्याप्पी ड्रिम्सद्वारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन हडपेको बताइएको छ। विज्ञप्तिमा फनपार्क सञ्चालक, वनका कर्मचारी तथा राजनीति दलका प्रतिनिधिको मिलेमतोमा सो कार्य भएकोप्रति पार्टीको ध्यानाकर्षण भएको जनाइएको छ।

अनाधिकृत रूपमा सरकारी वन मास्न र फँडानी गर्न नपाइने भए पनि वातावरणीय दृष्टिले अति संवेदनशील चुरे क्षेत्रमा यस्तो कार्य हुनु असमान्य भएको भन्दै तत्काल छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरिएको छ। कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरप्रमुख खम्बसिंह लिम्बू, वन कार्यालयका तत्कालीन प्रमुख इन्द्रनारायण भण्डारी र पार्क सञ्चालक दिनेश शिवाकोटीउपर छानबिन हुनुपर्ने माग स्थानीयवासीले समेत गर्न थालेका छन्।

साथै, अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने भएकाले यस घटनालाई सामान्य हिसाबले हेर्न नहुने बताइएको छ। सामुदायिक वनको ४५ रोपनी र करिब ३०० रोपनी ऐलानी जग्गा मासेर सो फनपार्क निर्माण भएको उल्लेख गरिएको छ। स्थानीयवासीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी दिएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *