पूर्वअर्थमन्त्री पाैडेलकाे टिप्पणी- ‘सरकारले बजेट होइन, चुनावी घोषणापत्र ल्यायो’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष तथा सांसद विष्णु पौडेलले सरकारको बजेट चुनावी घोषणपत्र जस्तो भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै पौडेलले सरकारको बजेट बजेटजस्तो नभएर सत्ता गठबन्धनको चुनावी घोषणापत्रजस्तो भएको बताएका हुन् ।
बजेट बनाउँदा सरकारले आफ्नो ‘म्यादी’ भूमिका पनि बिर्सिएको उनको आरोप छ । ‘यो सरकार आगामी चुनावसम्मको म्यादी सरकार हो । तर, उसले बजेट बनाउँदा आफ्नो म्यादी भूमिका बिर्सिएको छ,’ उनले भने, ‘चुनावी सरकारले निर्वाचनबाट आउने नयाँ सरकारलाई गह्रौँ भारी बोकाउन पाउँदैन । तर, यो बजेटले दीर्घकालीन भार देशलाई बोकाउनेछ ।’
उनले बजेटको प्राथमिकता निर्धारण पनि हचुवा भएको बताए । बजेटले आर्थिक वृद्धिदरको लक्ष्य ८ प्रतिशत पुग्ने लक्ष्य निर्धारण गरेको भन्दै त्यो देशको आर्थिक अवस्था र सरकारको तयारीका कारण सम्भव उनको तर्क छ ।
मुद्रास्फीति ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको भन्दै अहिले नै त्यो नाघिसकेको र आउँदा दिनमा अझ बढेर जाने जिकिर गरे । उत्पादन लागत बढिरहेको अवस्थामा ७ प्रतिशतमा मुद्रास्फीति कायम राख्न सम्भव नभएको पौडेलको जिकिर छ ।








