सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । श्रमति हत्या काण्डमा कर्तव्य ज्यान मुद्दाका दोषी कोइरालालाई जन्मकैद हुने फैसला सर्वोच्च अदालतले गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

याे पनि :  उल्टियाे फैसला : ज्यान मुद्दाका दाेषी पूर्व डीआईजी कोइराला अझै साढे ११ वर्ष जेल बस्नु पर्ने

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नयाँ बानेश्वरबाट शुक्रबार साँझ पक्राउ गरेको हो । सर्वोच्च अदालतले बिहीबार आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो ।

त्यसअघि सर्वोच्च अदालतले जन्मकैदलाई ८ वर्ष ६ महिनामा झारेपछि कोइराला गत असारमा छुटेका थिए । सर्वोच्चको फैसला अनुसार दोषी कोइरालाले अझै ११ वर्ष ६ महिना जेलमा बस्नु पर्ने छ ।

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंक बहादुर मोक्तान र डा कुमार चुँडाल रहेको पूर्ण इजलासले मुद्दाको पुनरवलोकन गर्दै बिहीबार उक्त फैसला गरेको थियो ।

गत असार १५ गते तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सजायमा सहुलियत दिने फैसला सुनाएको थियो ।

उक्त फैसला लगत्तै महान्याधिवक्ता कार्यालयले ११ साउन २०७७ मा कोइरालाको कैद सजाय घटाउन सर्वोच्चले गरेको फैसलाविरुद्ध पुनरवलोकन रिट दायर गरेको थियो ।

२०६८ सालमा पूर्व डीआईजी कोइरालाले श्रीमती गीता ढकालको हत्या गरी शवसमेत टुक्रा पारेर चितवनमा लगेर नष्ट गरेका थिए । २०७१ वैशाख ७ गते काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

पुनरावेदन अदालत पाटनले पनि त्यसैलाई सदर गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *