उल्टियाे फैसला : ज्यान मुद्दाका दाेषी पूर्व डीआईजी कोइराला अझै साढे ११ वर्ष जेल बस्नु पर्ने

काठमाडाैँ । सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाले अझै साढे ११ वर्ष जेल बस्नु पर्ने भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजालासले कैद घटाउन गरेको फैसला कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको इजलासले बदर गरिदिएको हो ।

जिल्ला अदालतले जन्म कैदको फैसला गरेका कोइराला साढे ८ वर्ष कैद बसेर छुटेका थिए। अब उनले बाँकी समय जेलमा बसेपछि मात्रै सजाय भुक्तान हुनेछ।

बिहीबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले यसअघिको फैसला बदर गरेको हो।

आफ्नै श्रीमती गीता ढकालको हत्याको कसुरमा जिल्ला अदालत काठमाडौंले सुनाएको जन्म कैदको सजायलाई कम गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय ८ वर्ष ६ महिनामा झारेको थियो।

कोइराला गत साउन ८ गते जेलमुक्त भएका थिए। फैसला नजिर एवम् कानुनी सिद्धान्तप्रतिकूल भएको भन्दै त्यसै दिन महान्यायाधीवक्ताको कार्यालयले पुनरवलोकनका लागि निवेदन दिएको थियो ।  यसअघि नै पुनरावलोकन हुने ठहर गरेको सर्बोच्चले बिहीबार कैद घटाउने फैसलालाई उल्ट्याएको हो ।

डीआईजी रहेकै बेला ९ वर्ष पहिले कोइरालाले श्रीमतीको हत्या गरेका थिए । हत्यापछि शव टुक्राटुक्रा पारेर मकवानपुरको जंगलमा लगेर जलाएको फेलापरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *