आपूर्तिमन्त्री बडूले ओलीलाई स्तरहीन कुरा गरेकाे आराेप लगाएपछि संसद अवरुद्ध

काठमाडाैँ । नेकपा एमालेका सांसदहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ती जनाउदै प्रतिनिधिसभा अवरुद्ध पारेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडूले बिहिबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए । त्यस्तै, उनले ओलीले सदनमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको पनि बताएका थिए ।

त्यसपछि एमालेका सांसदहरुले मन्त्रीले गैरजिम्मेवारीपूर्वक बोलेको भन्दै विरोध जनाएका थिए । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेतामाथि अप्रमाणित कुरा गरेर संसदको गरिमा घटाउने काम गरेको आरोप लगाए । एमाले सांसदहरुले मन्त्री बडूले आफ्ना शब्द फिर्ता लिनुपर्ने माग गर्दै उठेर विरोध जनाएपछि सभामुख अग्नि सापकोटाले केहीबेरका लागि बैठक स्थगित गरेका थिए ।

त्यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउदै मन्त्री बडूले कर समायोजनको विषयको प्रस्ताव अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका थिए ।

आयल निगमको घाटा कम गर्न तथा यसको अल्पकालीन तथा दीर्घकालीन विकल्प र व्यवसाय विविधिकरणसहितको विषयमा अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा एक उच्चस्तरीय अध्ययन समिति समेत बनाएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *