ओलीको आलोचना भएपछि संसद्मा एमालेको अवरोध

काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा बिहीबारको बैठकमा टिप्पणीमा जवाफ दिनेक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले आलोचनात्मक टिप्पणी गरेपछि एमालेले सांसद्हरुले बैठकमा अवरोध गरेका हुन् । उनीहरूले मन्त्री बडूकाे टिप्पणी संसद्काे रेकर्डबाट हटाउन मागसमेत गरेका छन् ।
शुरूमा एमाले सांसद खगराज अधिकारीले उठेर विराेध जनाए । उनले संसद्काे राेष्ट्रम प्रयाेग गरेर सरकारले त्यस्ताे बाेल्न नपाइने बताए । उनले विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बाेल्न समय दिए । लगत्तै जवाफ दिनेक्रममा बडूले निरन्तर ओलीमाथि आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसदहरू उठेर नाराबाजी गर्न थाले । त्यसपछि सभामुख सापकाेटाले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईलाई बाेल्न समय दिए । उनले मन्त्री बडूकाे टिप्पणी संसद्काे रेकर्डबाट हटाउन माग गर्दै त्यसका लागि संसदीय समिति गठन गर्न मागसमेत गरेका छन् ।
यसपछि पनि एमाले सांसदहरूले बसेनन् । यसपछि सभामुख सापकाेटाले बैठक स्थगित गरेका छन् ।








