ओलीले भने– लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो भन्न सक्नु हुन्छ कि हुन्न प्रधानमन्त्री ज्यू ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमले छिमेकी मुलुकले मिचेको नेपाली भूभाग फिर्ता ल्याउने बारे केही कुरा नबोलेको भन्दै आपत्ती जनाएका छन् ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा जारी छलपलमा बोल्दै उनले यस्तो आपत्ती जनाएका हुन् ।
‘लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भन्न सक्नु हुन्छ कि हुन्न प्रधामन्त्री ज्यू ?,’ ओलीको प्रश्न थियो, ‘मिचिएका यी नेपाली भूभाग फिर्ता ल्याउन सक्नु हुन्छ कि हुन्न प्रधामन्त्री ज्यू ? आफ्नाे भूमिलाई आफ्नो हो भन्न सक्नु हुन्न भने केका लागि प्रधानमन्त्री ?’
केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला भारतले मिचेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरासमेतलाई समेटेर सरकारले चुच्चो परेको नक्सा जारी गरेको थियो । उक्त नक्साप्रति भारतले आपत्ति जनाउँदै आएको छ । भारतले नेपाली भूभाग मिचेर चीनको मानसरोबर जाने बाटो समेत खोलिरहेको छ । तर, देउवा सरकार यी सबै कुराप्रति मौन देखिएपछि ओलीले संसदमा आपत्ती जनाएका हुन् ।









