सेन्ट लरेन्समा आन्दोलन रोकेर पठनपाठन सुचारु गर्ने सहमति

काठमाडौँ । काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा आन्दोलन रोकेर पठनपाठन सुचारु गर्ने सहमति भएको छ । शिक्षकबाट यौन दुर्व्यवहारमा परेकी नाबालिकाका अभिभावक, कलेज प्रशासन र विद्यार्थीबीच भएको छलफलपछि पठनपाठन सुचारु गर्ने सहमति भएको हो ।

बुधबार प्रहरी वृत्त गौशालामा पीडित परिवार, विद्यार्थी र कलेज प्रशासनले आजदेखि पठनपाठन सुचारु गर्ने सहमति गरेको बताइन्छ । आफ्नै विद्यार्थीलाई यौन दुर्व्यवहार गरेपछि विद्यार्थी र उनीहरुका अभिभावकले कलेजका कोअर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेलविरुद्ध आन्दोलन गरेको थिए ।

कोअर्डिनेटर अधिकारीबाट नाबालिगहरु पटकपटक यौन दुर्व्यवहार र यौन हिंसाको शिकार बनेको भन्दै मंगलबारबाट उक्त कलेजका विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । पठनपाठन नै छाडेर विद्यार्थीहरु आन्दोलनमा आएपछि विद्यार्थीको पढाई बिग्रने भन्दै कलेज प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक बसेर पठनपाठनलाई सुचारु बनाउने सहमति गरेका हुन् ।

आरोपित शिक्षकलाई कानुनी कारवाहीका लागि आवश्यक सबै सहयोग गर्ने भनी कलेज प्रशासनले प्रतिवद्धता जनाएपछि पीडित नाबालिगका परिवार र विद्यार्थीले पठनपाठनलाई सुचारु गराउने सहमति गरेका हुन् ।

यसैबीच पक्राउ परेका शिक्षकलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको छ । ती शिक्षकहरुले विद्यार्थीहरुमाथि अनैतिक रुपमा छुने, आफ्नो घरमा बस्ने र यौन सम्पर्कको प्रस्ताव गरेको छात्राहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *