उफ् महँगी !

पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दश रुपैयाँले बढाएको छ ।

अहिले बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ रहेको छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर २०० रुपैयाँले बढेको छ । बजारमा अहिले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८०० रुपैयाँ पर्छ । पेट्रोल, डिजेल, मट्टितेल तथा एलपी ग्यासमा देखिएको यो मूल्यवृद्धि अहिलेसम्मकै उच्च हो । भारतले कर कम गरेर इन्धनमा मूल्य घटाएको भोलिपल्टै नेपालमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँले बढाइएको छ ।

स्थानीय तह निर्वाचनको तामझाम सकिन नपाउँदै निर्वाचनको भोलिपल्टै अर्थात् वैशाख ३१ गते इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको सरकारले त्यसको एक साता पछि फेरि उही दरमा मूल्यवृद्धि गराएको छ । यस अघि वैशाख ३० गतेसम्म प्रतिलिटर पेट्रोल १६० रुपैयाँमा थियो भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ रहेको थियो । त्यसपछि लगत्तै एक हप्तामै पेट्रोलियम पदार्थको मूल्य २० रुपैयाँले बढेपछि आम उपभोक्ता साँच्चै मारमा परेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य ११ महिनामा १३ पटक बढ्यो

पछिल्लो ११ महिनामा पेट्रोलियम पदार्थको मूल्य १३ पटक बढाइएको छ । गत असारमा पट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ रहेकोमा निगमले पटक पटक मूल्य समायोजन गरी ५३ रुपैयाँले बढाएर अहिले प्रतिलिटर १८० रुपैयाँ पुर्‍याएको छ । त्यस्तै, गतवर्षको असारमा प्रतिलिटर ११० रुपैयाँ रहेको डिजेल तथा मट्टितेलको मूल्य ४७ रुपैयाँले बढेर अहिले प्रतिलिटर १६३ रुपैयाँ रहेको छ । हवाइ इन्धनको मूल्य आन्तिरिक तर्फ पनि त्यस्तै मूल्यवृद्धि छ ।

गत असारसम्म प्रतिलिटर ८२ रुपैयाँ पर्ने हवाइ इन्धन यस बीचमा निगमले पटक पटक मूल्य समायोजन गरी ८४ रुपैयाँले बढाएर प्रतिलिटर १६६ पुर्‍याएको छ । यता खाना पकाउने ग्यासको अवस्था पनि त्यस्तै छ । गत वर्षको असारमा प्रतिसिलिन्डर १४ सय २५ रुपैयाँ रहेको एलपी ग्यासको मूल्य निगमले पटक पटक मूल्य समायोजन गरी ३७५ रुपैयाँले बढाएर अहिले प्रतिसिलिन्डर १८०० रुपैयाँ रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि भारत सरकारले कर कटौती गरेर शनिबार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँले सस्तो बनाएको छ । ग्यासमा पनि प्रतिसिलिन्डिर २ सय रुपैयाँ छुट दिइएको छ । नेपालमा भने इन्धनमा १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको एक सातामै उही दरमा फेरि भाउ बढाइएको छ ।

इन्डियन आयल कर्पोरेसन्स (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य अचाक्ली बढेको जनाउँदै नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य कायम गरेको हो ।

बजार मूल्य अचाक्ली बढिरहँदा सरकारले कर घटाउन कुनै चासो दिएको छैन । निगमको विवरणअनुसार आईओसीबाट प्रतिलिटर १ सय १७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ २३ पैसा कर लाग्छ । त्यस्तै, १ सय ३४ रुपैयाँ ५४ पैसामा खरिद गरिएको डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर लाग्दै आएको छ । त्यसमा ढुवानी भाडा, निगमको प्रशासनिक खर्च, बिमा खर्च, निगमको प्राविधिक नोक्सानी, विक्रेता कमिसन जोडेर उपभोक्तालाई थप भार थोपरिदिएको छ । यी शीर्षकमा उठाइने कर शुल्क परिमार्जन गर्नुपर्ने भन्दै विभिन्न दलका नेता तथा संगठनहरूले विरोध प्रदर्शन गर्दै आएका छन् ।

रुस र युक्रेनबीच जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । आइतबार प्रतिव्यारेल १ सय १२ डलरमा कारोबार भएको छ । कच्चा पदार्थको मूल्यसँगै डलरको मूल्य पनि बढेको छ । तिनै कारणले इन्धनको मूल्य बढेको आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

मूल्य समायोजन हुँदा पनि प्रतिलिटर पेट्रोलमा १४ रुपैयाँ ६४ पैसा, डिजेलमा २६ रुपैयाँ ८२ पैसा र ग्यासमा प्रतिसिलिन्डर ८ सय ७९ रुपैयाँ ७५ पैसा घाटा छ । ग्यासबाट मात्रै निगमलाई मासिक करिब ३ अर्ब नोक्सानी भइरहेको छ । त्यस्तै डिजेलमा करिब ३ अर्ब ४० करोड रुपैयाँ घाटा र पेट्रोलमा करिब १ अर्ब रुपैयाँ घाटा रहेको प्रवक्ता विनितमणि उपाध्यायले बताए।

अहिले इन्धनको मूल्य पटक पटक समायोजन गरिँदा यसको असर सबै वर्गका उपभोक्तामाथि परेको छ । मुलुक आर्थिक संकटमा धकेलिन लागेको प्रक्षेपण पछि सरकारले तेलको कच्चा पदार्थ आयातमा कडाइ गरेको छ र कच्चा पदार्थ नै मूल्य बढेर आउन थालेपछि तेलको मूल्य आकासिएको व्यवसायीको तर्क छ ।

बजार भाउ छोइ नसक्नु

गत साउनमा तोरिको तेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ थियो तर अहिले मूल्य बढेर तोरिको तेल प्रतिलिटर ४०० रुपैयाँ पुगेको छ । त्यस्तै सनफ्लावर तेलको मूल्य पनि प्रतिलिटर १६५ रुपैयाँबाट बढेर ३९० रुपैयाँ पुगेको छ । भटमासको तेलको मूल्य पनि यही अवधिमा लिटरको १५५ रुपैयाँबाट ३०० रुपैयाँ पुगेको छ । स्थानीय बजारमा तेलमा मात्र होइन, गेडागुडी, दाल लगायतका खाद्यान्नको मूल्य पनि उत्तिकै आकासिएको छ । यो युक्रेन रुस युद्धको आडमा उकालो लागेको इन्धनको मूल्यको असर हो ।

कोरोना महामारीका कारण बहुसंख्यक सर्वसाधारणको आम्दानी घटेको छ । आर्थिक गतिविधि सुस्ताएको बेला उपभोक्ताको ढाडै सेक्ने गरी महँगी बढ्दा पनि सरकारले ध्यान दिन सकेको छैन । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन भन्छन्– कच्चा पदार्थ आयातमै कडाइ भएपछि झन् व्यवसायीले मौकामा चौका हानेका छन्, खुद्रा मूल्यमा अहिले झन् चुनावी चन्दाको भार पनि थपिएको छ ।

बजार अहिले अराजक छ, नियन्त्रणविहीन अवस्थामा छ । जसको कारण उपभोक्ताहरू एकदम मारमा परिरहेका छन् । मुलुक संघीयतामा गएपछि ९० प्रतिशत बजार अनुगमन गर्ने जिम्मा स्थानीय सरकार अन्तर्गत वाणिज्य विभागको हो तर वाणिज्य विभागसँग जनशक्तिको अभावका कारण बजार अनुगमन गर्न नसकेको उपभोक्ताकर्मी प्रेमलाल महर्जनले तर्क राख्नुभयो ।

त्यस्तै, कानुन, न्याय तथा सामाजिक कल्याण मन्त्री नेपालका अध्यक्ष जगन्नाथ मिश्रले सरकारी निकायले बजार अनुगमन सस्तो लोकप्रियताको लागि मात्र गरिरहेको बताए । बजारमा अराजकता फैलाउने, मूल्य विचलन गर्ने, कालोबजारी गर्ने, कृत्रिम मूल्यवृद्धि गर्ने, अनुचित सञ्चय गर्नेहरूलाई सरकारले कारबाही नगरेको र कानुन अनुसार सजाय गर्न नसकेको बताए । जसले गर्दा बजार स्वच्छ र उपभोक्तामैत्री नभएको बताए ।

नियामक निकायमा देखिएको इच्छाशक्तिको अभाव, राजनीतिक दबाब र भ्रष्टाचारले गर्दा अहिले नेपाली बजारमा कोलाहल मच्चिएको छ । सरकार बलियो हुनुपर्‍यो र आफ्नो जिम्मेवारी बहन गर्नुपर्‍यो । दण्डको छडी नदेखाइ अहिले बजारको स्थिति मत्थर हुन नसक्ने भन्दै अध्यक्ष मिश्रले निराशा व्यक्त गरे ।

पेट्रोलियम पर्दाथको मूल्यमा हुने सानो उतार चढावले मात्र पनि मुलुकको अर्थतन्त्रमा ठूलो धक्का लाग्ने र यसको असर अन्य खाद्य साम्रगीहरूमा पनि देखिने अवस्था आउँदासमेत राज्य संयत्रको ध्यान यसप्रति आकर्षण नभएको समेत मिश्रले बताए ।

ढुवानी र सार्वजनिक यातायातको भाडा बढेसँगै खाद्यको मूल्य पनि अकासिन्छ र त्यसको प्रत्यक्ष असर सर्वसाधारणलाई नै पर्छ । यसरी इन्धनको मूल्यवृद्धिले चौतर्फी महँगी बढिरहेको तर त्यतातिर ध्यान नदिएको सरकारले इन्धनको मूल्य बढाएर थप मूल्यवृद्धिको चलखेल गरेको छ । स्राेतः INS न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *