कांग्रेस बन्यो ठूलो दल, खुम्चियो एमाले

काठमाडाैँ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट प्रमुख प्रतिपक्षी एमाले खुम्चिएर दोस्रो दलमा झर्दा नेपाली कांग्रेस पहिलो राजनीतिक दल बन्ने निश्चित भएको छ।

झण्डै दुई सातादेखि जारी मतगणना अन्तिम चरणमा पुगेको छ। मतगणनाको मंगलबार साँझसम्म घोषित परिणाम अनुसार कांग्रेसले ३ सय २३ स्थानीय तहको प्रमुख जितेको छ। काठमाडौं, महानगरपालिकासहित नौ स्थानीय तहमा मतगणना जारी रहँदा उसले ४ स्थानमा अग्रता लिएको छ। २०७४ सालमा भएको स्थानीय तह निर्वाचनबाट पहिलो दल बनेको एमालेले यसपटक २ सय ३ स्थानीय तहको प्रमुख जितेको छ। बाँकी केही पालिकाको जारी मतगणनामा उसले दुई ठाउँको प्रमुखमा अग्रता लिएको छ।

अघिल्लोपटक काठमाडौं, पोखरा महानगरपालिकासहित स्थानीय तहको परिणाम आफ्नो पक्षमा पारेको एमाले यसपटक सबै महानगरपालिका गुमाउने अवस्थामा पुगेको छ। यसपटक मधेस प्रदेशमा आफ्नो अवस्थामा केही सुधार गरेको एमालेले लामो समयदेखि उसको प्रभावमा रहेका क्षेत्र गुमाउन पुगेको छ। कांग्रेसले पनि विगतमा जितेको धनगढीसहितका केही स्थानीय तह यसपटक गुमाएको छ। दार्चुला, पूर्वीरुकुममा कांग्रेसले कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित निकाल्न सकेन। एमाले पनि नौ जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल भएको छ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा भन्दा यसपटक आफ्नो अवस्थामा केही सुधार गरेको छ। भरतपुर महानगरपालिकामा आफ्नो जितलाई निरन्तरता दिँदै उसले अहिलेसम्म १ सय २१ स्थानीय तहको प्रमुख जितेको छ। दुई दर्जनभन्दा बढी जिल्लाका स्थानीय तहमा प्रमुख जित्न असफल माओवादी काठमाडौं उपत्यकामा भने निकै कमजोर देखिएको छ।

एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिको प्रमुख आफ्नो पक्षमा पारिसकेको छ। पोखरा महानगरपालिकामा ऊ जितको नजिक छ। उसले अहिलेसम्म जम्मा १९ स्थानीय तहको प्रमुख जितेको छ।

मधेसको शक्तिकारूपमा उदाएको जनता समाजवादी पार्टी स्थानीय तह निर्वाचनमा पहाडमा पनि उक्लिएको छ। उसले वीरगन्ज महानगरपालिकासहित ३० स्थानीय तहको प्रमुख जितेको छ। एक स्थानीय तहको प्रमुखमा उसले अग्रता लिएको छ। तर अघिल्लोपटक जितेका जनकपुर उपमहानगरपालिकासहितका केही स्थानीय तह यसपटक उसले गुमाएको छ।

केही समयअघि जनता समाजवादी पार्टीबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी यसपटक स्थानीय तह निर्वाचनमा कमजोर बन्न पुगेको छ। उसले १६ स्थानीय तहको प्रमुख जितेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको शंखरापुरसहित चार स्थानीय तहको प्रमुख जित्दै संगठन सुदृढ गरेको संकेत दिएको छ। राष्ट्रिय जनमोर्चाले चार स्थानीय तहको प्रमुख जितेको छ। नागरिक उन्मुक्ति, जनमतसहितका पार्टी स्थानीय तहको निर्वाचनबाट अनुमोदन भएका छन्।

उम्मेदवार छनोटप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका र स्वतन्त्रले धरान उपमहानगरपालिकासहित दर्जन स्थानीय तहको प्रमुख जितेका छन्। काठमाडौं महानगरपालिकामा राजनीतिक दलबाट मैदानमा खडा भएका उम्मेदवारलाई पछि पार्दै वालेन्द्र साह प्रमुखमा निर्वाचित हुने निश्चित देखिएको छ। –नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *