अहिले नै मूल्यवृद्धि फिर्ताका लागि केही भन्न सक्दिनँ : मन्त्री बडू

काठमाडाैँ । विभिन्न विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन् ।
मंगलबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई ज्ञापन पत्र बुझाउदै विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलिय पदार्थ र ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।
विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरूलाई सहुलियतको मागसमेत गरेका छन् । यस्तै उनीहरूले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाईएको अत्याधिक कर बारे पुनर्विचार गर्नुपर्ने, वैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन् ।
पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजिकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत आग्रह गरेका छन् ।
ज्ञापन पत्र बुझ्दै मन्त्री बडुले अन्तर्राष्ट्रिय मूल्यवृद्धिको प्रभाव नेपालमा परेको र मुल्यवृद्धि गरिएको बताए । अहिले नै मूल्यवृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र मूल्यवृद्धिको समस्या समाधानका लागि छलफल गर्ने उनले बताए ।
यस्तै, विद्यार्थी संगठनले जेठ ११ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।
आयल निगमले गत बैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ तथा पुनः जेठ ८ गते पेट्रोलियम पदार्थमा प्रति लिटर १० रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा रु २०० वृद्धि गरेको थियो । नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौं), सजाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी संगठनले ज्ञापनपत्र बुझाएका हुन् ।








