मूल्यवृद्धि फिर्ता गर्न उद्योगमन्त्रीसमक्ष १५ विद्यार्थी संगठनको ध्यानाकर्षण

काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न १५ विद्यार्थी सङ्गठनले माग गरेका छन्।

आज मंगलबार १५ विद्यार्थी सङ्गठनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई मन्त्रालयमै भेट गरी ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन्।

मन्त्री बडुले अहिले नै मूल्यवृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने बताउँदै सो सम्बन्धमा आज छलफल गरिने जनाएका छन्। विद्यार्थी सङ्गठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरूलाई सहुलियतको मागसमेत गरेका छन्।

साथै, विभिन्न बहानामा पेट्रोलियम पदार्थमा लगाइएको अत्यधिक करबारे पुनर्विचार गर्न पनि उनीहरूले मन्त्री बडुसमक्ष आग्रह गरेका छन्। मन्त्री बडुसँगको भेटमा उनीहरूले वैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्नुपर्ने लगायतका माग एवं सुझाव राखेका हुन्।

पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजिकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत आग्रह गर्दै भोलि जेठ ११ गते पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन्।

नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौं), समाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी सङ्गठनले आज ध्यानाकर्षणपत्र बुझाएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *