भरतपुर महानगर हाँक्ने यी दुई कमाण्डर !

चितवन । भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।

दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरिन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गरे ।

स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरेका छन् । दाहाल विसं. २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिएन् ।

भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरे । अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगर अब यी दुई कमाण्डरले हाँक्ने भएका छन् । अब भरतपुरलाई कस्तो बनाउने भन्ने जिम्मा यी दुईको काँधमा गएको छ । अब भरतपुर हाँक्ने कमाण्डर यी दुई को हुन् ?

रेनु दाहाल :-
रेनु दाहाल २०७४ सालको स्थानीय तहको चुनावमा निर्वाचित भएर एकपटक भरतपुर महानगरपालिकाको मेयर बनिसकेकी छन् । उनले मतदातासामु आफ्नो अधुरा काम पूरा गर्ने संकल्प गरेकी छन् ।

भरतपुर महानगरपालिकाको नगर प्रमुखमा दोस्रो कार्यकालका लागि रेनु दाहाल निर्वाचित हुने पक्का भएको छ । गणना बाँकी मतभन्दा रेनु धेरै मतले अगाडि छन् । रेनु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी माइली छोरी हुन् ।

२०३३ असार २३ गते चितवनको भरतपुर  वडा नं १४ भीमसेनगरमा जन्मिएकी दाहालले सशस्त्र युद्धको समयमा भूमिगत जीवन बिताएकी छन् । उनले भूमिगत भएकै कारणले एसएलसी भन्दा माथिल्लो अध्ययन गर्ने अवसर पाइनन् । सशस्त्र द्वन्द्वको समयमा प्रवास भारतमै उनको धेरै समय बितेको छ । सशस्त्र युद्धको समयमा भारतका विभिन्न प्रान्तमा सेक्रेटरीको भूमिका निर्वाह गरेकी दाहाल हाल माओवादी केन्द्रको केन्द्रीय  सदस्य तथा चितवन जिल्ला इन्चार्जसमेत हुन् ।

दाहाल २०६१ देखि ०६३ सम्म रोल्पाको पार्टी सह इन्चार्ज भएकी थिइन् । दाहाल २०६४ देखि २०६९ सम्म संविधानसभा सदस्य रहेकी थिइन् । २०७४ मा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य रहेकी दाहाल अखिल नेपाल महिला संघ क्रान्तिकारीको महासचिव बनिन् ।

उनले  भारत, चीन, बेलायत, थाइल्याण्ड, श्रीलंका, इन्डोनेसिया लगायतका देशहरूको भ्रमण गरेकी छन् । दाहाल संविधान सभाको पहिलो निर्वाचनमा समानुपातिकबाट सभासद् बनेकी थिइन् । संविधान सभाको दोस्रो निर्वाचनमा रेनु काठमाडौँमा प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् । त्यसपछि उनले आफ्नो राजनीति यात्रा चितवन सारेकी हुन् ।

चित्रसेन अधिकारी :-
भरतपुर महानगरपालिकाको उपप्रमुखमा निर्वाचित हुने सुनिश्चित भएको चित्रसेन अधिकारी भरतपुर महानगरमा नेपाली कांग्रेसका नगर सभापति हुन् । राजनीतिक कार्यकर्ताका अतिरिक्त सामाजिक अभियन्ता पनि हुन् । उनी २०७४ सालमा नेपाली कांग्रेसबाट भरतपुर २१ मा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

२०३८ सालबाट राजनीतिक यात्रामा होमिएका अधिकारी २०४२ सालको सत्याग्रहमा पनि सामेल थिए । २०४६ सालको जनआन्दोलनमा हिरासतमा लामो समय आफ्नो जीवन बिताएका अधिकारी नेपाली काँग्रेसमा अवरुद्ध रहेर पार्टीका सबै कार्यक्रममा अग्रपङ्क्ति खटिँदै आएका छन् । २०६२ र ६३ को आन्दोलनको नेतृत्व गरेका उनी उनी नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि, १२ औँ महाधिवेशनमा क्षेत्रीय सदस्य हुँदै राजनीतिक यात्रामा आफूलाई अब्बल साबित गर्न सफल भए ।

२०५४ को स्थानीय निर्वाचनमा साबिक पार्वतीपुर गाविस-७ को वडा अध्यक्ष, २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर–२१ को वडा अध्यक्ष हुँदै उनले जनप्रतिनिधिका रूपमा पनि काम गरे ।

अधिकारीले राजनीतिक शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । पार्वतीपुर खानेपानी उपभोक्ता समितिको वर्तमान अध्यक्ष, अन्नपूर्ण कलेजको संस्थापक सदस्य, अन्नपूर्ण माविको व्यवस्थापन समितिको सदस्य, पार्वतीपुर स्वास्थ्य चौकीको व्यवस्थापन समिति अध्यक्ष, खगेरी सिँचाइ उपभोक्ता समितिको सदस्य, पार्वतीपुर प्रेरणा साकोसको निवर्तमान अध्यक्ष, पार्वतीपुर मेलमिलाप समितिको निवर्तमान संयोजक हुँदै उनले सामाजिक र राजनीतिक जीवनमा आफूलाई खर्चिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *