भरतपुरमा रेनु दाहालको जित सुनिश्चित, १२ हजारको अग्रता

भरतपुर । भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको जित सुनिश्चित भएको छ । गठबन्धनबाट भरतपुरको मेयरमा उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी चितवन जिल्ला इन्चार्ज दाहाल पछिल्लो मतगणनाअनुसार १२ हजारले अग्रता कायम गरेकी छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले भरतपुरमा एक लाख २५ हजार ८४२ मतगणना सकिएको छ । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । अन्तिम दुई वडा २८ र २९ को मतगणना जारी रहँदै गर्दा रेनु दाहाल ५१ हजार ११२ मत प्राप्त गरेकी छन् ।
यो मत एमालेका मेयरका उम्मेदवार विजय सुवेदीको भन्दा १२ हजार १४० मतले बढी हो । सुवेदीले ३८ हजार ९७२ मत ल्याएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२७ मत प्राप्त गरे ।
उपप्रमुखमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई २१ हजार ५७७ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ५१ हजार ९०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ३२६ मत प्राप्त गरेकी छन् ।
भरतपुरको अहिलेसम्म २७ वडाको मतगणना सकिएकोमा नेपाली कांग्रेसले १५ वटा वडा जितेको छ । नेपाली कांग्रेसले वडा नं १ ,२ ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ मा जितेको छ ।
नेकपा एमालेले ३, ११, १२, १८ र १९ गरेर ५ वटा वडा जितेको छ भने नेकपा एकीकृत समाजवादीले ७, ९, २२ गरेर ३ वटा वडा जितेको छ । नेकपा माओवादी केन्द्रले पनि वडा नं १३, २४, २६ मा जित्न सफल भएको छ । यस्तै वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।









