डोटीमा दलित र गैर दलितका छुट्टाछुट्टै धारा

डाेटी । सुन्दा पनि अचम्म लाग्न सक्छ पूर्वीचौकी गाउँपालिका–२ कुडासैन गाउँमा दलित र गैर दलितका लागि छुट्टाछुट्टै धारा निर्माण गरिएका छन् ।

यहाँका गाउँमा वर्षौं पहिलेदेखि दलित र गैर दलितका लागि छुट्टै धारा निर्माण गरिएका छन् । उक्त गाउँको पानीको मुहानमा तीन पानीका धारा निर्माण गरिएका छन् ।

तीन धारामध्ये दुई धारामा कुडासैनका दलित समुदायका व्यक्तिले जान पाउँदैनन् । दलित समुदायका लागि छुट्टै एक धारा निर्माण गरिएको छ । कहिलेकाहीँ उक्त धारामा पानी नआउँदा भने दलितले टाढाबाट (गैर दलित नछुने गरी) भाँडोमा पानी माग्नुपर्ने बाध्यता रहेको स्थानीय दलित बताउँछन् ।

दलित र गैर दलितको खाने पानीको धारा फरकफरक रहनु लजास्पद कुरा रहेको दलित अगुवाको भनाइ छ । नेपालको कानून र संविधानले जातीय विभेदलाई दण्डनीय अपराध भनी सजायको व्यवस्थासमेत गरिसकेको भए पनि यहाँका विकट गाउँमा उक्त कानून व्यावहारिक पक्ष फितलो हुँदा अहिले पनि सानो जात र ठूलो जातका आधारमा विभिन्न किसिमका विभेद हुँदै आएको स्थानीयवासी जोगी विष्टले बताए ।

जातीय विभेदका कारणले अहिले पनि देशको एउटा ठूलो समुदाय राज्यका विकास निर्माणका काममासमेत सहभागी हुन नपाएको सम विकास केन्द्रका अध्यक्ष अधिराज विसीले बताए ।

राजनीतिक दल, नागरिक समाज र विभिन्न सङ्घसंस्थाले दलित र पछाडि पारिएका समुदायको हकहितका निम्ति विभिन्न कालखण्डमा ठूला आन्दोलन गरे पनि अहिलेसम्म जातीय विभेद उन्मूलन हुन नसकेको विसीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *