पाण्डेविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन मुद्दाको तयारी

काठमाडाैँ । आठ वर्षअघि सम्पन्न सौन्दर्य प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीमाथि भएको बलात्कार घटनामा प्रहरीले आरोपितविरुद्ध शरीर बन्धक तथा मानव बेचबिखन कसुरमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।

सामाजिक सञ्जालमा बुधबार पीडित युवतीले सन् २०१४ मा आफू सहभागी रहेको सौन्दर्य प्रतियोगितामा आयोजक मनोज पाण्डेले होटलमा बोलाई झुक्याएर नशालु पदार्थ मिसाई खुवाएको र आफू बेहोस रहेको अवस्थामा होटलको कोठामा लगी बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

अभिभावकसँगको पक्षसँगको छलफलपछि प्रहरीले महान्याधिवक्ताको कार्यालय तथा जिल्ला सरकारी वकिललगायतका सरोकारवाला निकायसँग कानुनी परामर्श गरेको थियो । मौजुदा कानुनअनुसार १६ वर्ष वा मुनिका बालिका बलात्कार घटनाको अनुसन्धान तथा मुद्दा अभियोजन १८ वर्ष पूरा भएको मितिले एक वर्षभित्र चलाउनुपर्छ ।

उक्त मुद्दामा समेत कानुनको हदम्यादको प्रश्न उठ्ने र प्रहरीको अनुसन्धान तथा अभियोजन कमजोर नहोस् भनी शरीर बन्धक तथा मानव बेचबिखन अपराधको कसुरअन्तर्गत मुद्दा चलाउने तयारी भएको हो ।

पीडितका अभिभावक प्रहरीमा उजुरी दर्ता गरिनसकेकाले प्रहरीले कुन अभियोगमा टेकेर मुद्दा अघि बढाउने भन्ने सार्वजनिक गरको छैन । सोमबार पीडितका परिवारले प्रहरीमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट अनुसन्धान गर्न अनुमति लिने तयारी गरेको छ । -गोरखापत्र दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *