पूर्वी अफ्रिकाको खडेरी : यहाँको पीडा बराबर अरू केही छैन

वर्षा हुनुपर्ने चौथो सिजनमा पनि वर्षा नभएपछि पूर्वी अफ्रिकाले एक दशकमा भोग्नु नपरेको खडेरी भोगिरहेको छ । उत्तरी केन्यास्थित तुर्कनाको एक गाउँ जहाँ ३६ सय परिवार बसोबास गर्छन् उनीहरू अहिले पिडा खपेर बसेका छन् । किनभने यो गाउँ नै सबैभन्दा बढी प्रभावित गाउँ हो । यहाँको जमिन सुक्खा छ । यहाँको जमिनमा धुलो उडिरहेको बाझो छ । जीवित गाईबस्तु र जनावरले सुकेका झाडीहरू खाइरहेका छन् ।
मानिसहरू जे उपलब्ध छ त्यही खाइरहेका छन् । खाने कुरा धेरै कम उपलब्ध हुन्छ । जेसिन्टा अताबो लोमालुक लोमोपुथ गाउँमा बस्छिन् । उनी ५ सन्तानकी आमा हुन् । उनको जेठो छोरा सेप्टेम्बरदेखि नै कुपोषणको सिकार भएका छन् ।
कुपोषणले ग्रसित उनका १२ वर्षिया छोरा कमजोर भएका छन् । एक्लै हिँड्न र उभिन पनि सक्दैनन् । जेसिन्टा आफ्नो जीवनभर पहिले कहिल्यै यो खडेरी जस्तो खराब अवस्था भोग्नु नपरेको बत्ताउँछिन् । यस्तो नराम्रो स्थिति पहिले कहिल्यै आएको थिएन । त्यही कारण अब यहाँ खतरनाक भोकमरीको संकेत देखिएको छ ।
‘भोक हाम्रो साथी बनेको छ’
पछिल्लो वर्षदेखि नै देखा परेको उच्च खडेरीको कारण कुपोषणको केस गन्नै नसकिने गरी बढेको छ । जेसिन्टा भन्छिन्, ‘हामी एकपटक मात्रै थोरै खाना खान पाउँछौ । त्यही पनि कहिलेकाहीँ अवस्था हेरेर खानै पाइँदैन । किनभने बालबच्चा र वृद्ध वृद्धालाई प्राथमिकता दिनुपर्ने हुन्छ । हामीलाई कसैले भोकमरीबाट बचाउन सहयोग गरिदिए हुने भन्ने आशा राखेका छौ ।
यदि सहयोग पाएनौँ भने हामीमध्ये धेरैको मृत्यु हुन्छ । विशेष गरी बालबालिका र बृद्धबृद्धाको लागि सहयोगको अपेक्षा राखेका छौ ।’ जेसिन्टा भोकमरीलाई प्रतिनिधित्व गर्ने एक आवाज मात्रै हो । त्यहाँ लाखौँको संख्यामा मानिसहरू भोकमरीको चपेटामा छन् । सोही समुदायमा बस्ने नारोगाइ लङ्ग भन्छिन्, ‘अब हामीले हाम्रो अवस्थामा सुधार आउँछ भनेर सोच्न छोडिसकेका छौ । हामी ३ वर्षदेखिको निरन्तर खडेरीको चपेटामा पर्दा हामीलाई सहयोग गर्न कोही पनि आएका छैनन् । हामी भोकमरीलाई सामान्य रूपमा लिने भइसकेका छौ । भोकमरी नै हाम्रो साथी बनिसकेको छ । हामी सँग खानेकुरा नै छैन । जति छ हामी आमा आफैले खानुको साटो हाम्रा बच्चा र बृद्धबृद्धालाई दिने गरेका छौ ।’
२ करोड मानिस जोखिममा
मानिसहरू भोक र प्यासले हताश देखिन्छन् । लाखौँ बालबालिका कुपोषणका सिकार भएका छन् । पशुपालनबाट आफ्नो जीविका चलाउनेहरूको पशुधन मरिसकेका छन् । यो खडेरी र भोकमरी केन्यामा मात्रै होइन अफ्रिकाको ठूलो भू–भागमा फैलिएको छ ।
संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पूर्वी अफ्रिकाका २ करोड मानिसहरू गम्भीर भोकमरीको जोखिममा रहेको बताएको छ । इथोपयिा ५० वर्षदेखि निरन्तर खडेरीको सामना गर्दै आएको छ भने सोमालियाको ४० प्रतिशत जनसंख्या भोकमरीसँग जुधिरहेका छन् । यो अन्तर्राष्ट्रिय संकटको कारण जटिल छ र संकट न्यून हुने कुनै संकेत देखिँदैन ।
त्यसैले गर्दा जलवायु परिवर्तन प्रमुख चिन्ताको विषय बनेको छ । संयुक्त राष्ट्र संघका अनुसार अफ्रिका जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित महादेश हो । तर अफ्रिकाले विश्वव्यापी कार्बन उत्सर्जनको ४ प्रतिशत हिस्सा मात्र लिएको छ ।
इथियोपिया र सोमालियामा चलिरहेको द्वन्द्वले पहिले देखि असुरक्षित रहेको अवस्थालाई झन् गहिरो बनाएको छ । भौगोलिक दूरी भए पनि रुस युक्रेनको युद्धले पनि नकारात्मक प्रभाव परेको छ । खाद्यान्नको मूल्य वृद्धि भएको छ । उत्पादनले नधानेको बेलामा खरिद गर्ने अवस्था नउद्या भोकमरी झन् बढेको छ ।
युक्रेन युद्धले विश्वको ध्यान केन्द्रित गरिरहँदा त्यहाँका मानिसहरूले सहयोग पाएका छन् । तर अफ्रिका कसैको केन्द्रमा नै परेको छैन ।
‘संसारले यसरी हेरिरहेको छैन’
अहिले संयुक्त राष्ट्र संघका मानविय मामिला कार्यालयका प्रमुख मार्टिन ग्रिफिथले परिवर्तन गर्न खोजेका छन् । उनले केन्याको भ्रमणको क्रममा भनेका छन्, ‘अहिले पुरै विश्व युक्रेन केन्द्रित भएको छ । हो युक्रेनको अवस्था पनि भयावह रहेको छ । तर जुन अवस्था मैले केन्यामा देखेको छु त्यसको बराबरी पिडा अन्त कतै छैन । म अफ्रिकाको भोकमरीतर्फ विश्वको ध्यान केन्द्रित गराउन चाहन्छु ।
उनको अफ्रिका भ्रमणले तत्काल केही परिवर्तन नभए पनि अलि केही समयको बिचमा सहयोग हुने अपेक्षा राखिएको छ । संयुक्त राष्ट्र संघको अफ्रिकाको लागि एउटा कार्यक्रम रहेको छ जसमा केन्या पनि समावेश रहेको छ । यदि अहिले भइरहेको काममा कुनै बाधा पुगेन भने उक्त कार्यक्रमले छिटै केन्याको जनताले केही राहत महसुस गर्न पाउनेछन् । यस्तो अवस्थामा पनि लोमोपुथ गाउँका मानिसहरूले लचिलोपन देखाएका छन् । किनभने जति पनि खानेकुरा छ उनीहरू छिमेकीहरूमा बाँडेर खाने गरेका छन् ।
यो कठिन परिस्थितिमा आफ्नो जीवन रक्षाको लागि कटिबद्ध भएका छन् । अब विश्वभरिको ध्यान केन्द्रित हुँदा र केही समय पानी पर्दा पनि यहाँको भोकमरी तुरुन्तै हटेर जाने सम्भावना छैन । लोमालुक भन्छिन्, ‘अबको केही महिना पनि यस्तै अवस्था रहेमा हामी कोही यहाँ रहँदैनौ । हामी बसाइँ सरिसकेका हुन्छौँ र धेरै मानिसको मृत्यु भइसकेको हुनेछ । -बिबिसीबाट








