मलेसियाको रोजगारीमा आर्थिक चलखेल, सरकारले थाल्यो छानबिन

काठमाडाैँ । मलेसिया श्रमिक पठाउँदा ठूलो आर्थिक चलखेल भएको भन्दै सरकारले छानबिन थालेको छ । वैदेशिक रोजगार विभागले मलेसियामा श्रमिक पठाउने म्यानपावर कम्पनीसँग विवरण माग गरेको हो ।

म्यानपावर कम्पनीले मलेसियाबाट श्रमिकको माग पत्र ल्याउँदा त्यहाँका रोजगारदातालाई ठूलो रकम बुझाएको सूचनापछि छानबिन थालिएको श्रम मन्त्रालयले जनाएको छ । श्रमिक लैजाने खर्चसमेत त्यहाँका रोजगारदाता कम्पनीले दिनेगरी श्रम सम्झौता भएपनि म्यानपावर कम्पनीकै अस्वस्थ प्रतिस्पर्धाका कारण कसले बढी रकम दिएर माग पत्र ल्याउने भन्ने होडबाजी देखिएको मन्त्रालयको ठहर छ ।

केही साता पहिले श्रम मन्त्री किसान श्रेष्ठले मलेसियाको भ्रमण गरेका थिए । त्यतिबेला त्यहाँका रोजगारदाताबाट समेत यस्तो सूचना पाएको मन्त्रीको दाबी छ । मलेसिया जाने श्रमिकलाई आउने/जाने हवाई टिकट, भिसा जारी तथा नवीकरण दस्तुर, लेवी लगायतका शुल्कहरू रोजगारदाताले नै व्यहोर्ने व्यवस्था छ ।

सन् २०१८ मा भएको श्रम सम्झौता अनुसार त्यहाँ जाने श्रमिकले म्यानपावर कम्पनीलाई बढीमा १० हजार रुपैयाँ मात्रै बुझाउनु पर्ने व्यवस्था छ । तर श्रमिकबाट म्यानपावर कम्पनीले लाखौँ रुपैयाँ उठाउँदै आएका छन् । रोजगारदातासँग माग पत्र ल्याउने होडमा बुझाएको रकम श्रमिकबाट उठाउने गरेको पाइएपछि सरकारले छानबिन थालेको हो ।

नेपाल सरकार र मलेसिया सरकारबीच द्विपक्षीय श्रम सम्झौता भएको मितिदेखि मलेसियामा पठाएका श्रमिकहरुको विवरण र रोजगारदाताको विवरण वैदेशिक रोजगार विभागले माग गरेको छ । कामदारहरूलाई मलेसिया पठाउँदा रोजगारदाताबाट प्राप्त भएको हवाई टिकट खर्च लगायतका सेवा शुल्कको आम्दानी तथा खर्चको विवरण पनि विभागले माग गरेको छ ।

म्यानपावर कम्पनीलाई ७ दिन भित्रमा सबै विवरण बुझाउन विभागले पत्र पठाएको हो । विवरण प्राप्त भएपछि छानबिन गरेर कारबाही अगाडी बढाइने मन्त्रालयका एक अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *