नयाँ र पुराना वडा अध्यक्ष एकै ठाउँमा, नागरिक भन्छन् ‘मिलेर वडाको विकास गर’

विराटनगर । देशभरिका स्थानीय तहको मत परिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा छ।

निर्वाचित जनप्रतिनिधिहरू कोही आशिर्वाद लिन मन्दिर पुगे होलान्, कोही विजय उत्सव सहितको ठूला ध्वनीको तामझामका साथ मतदातालाई रिझाउन घर घर पुग्दै होलान्। शनिबार बिहान भने विराटनगर महानगरपालिका वडा नं १ विजयपुरका नागरिक भने निवर्तमान जनप्रतिनिधि र नव निर्वाचित जनप्रतिनिधिलाई एकै ठाउँमा राखेर विकास निर्माणको लेखाजोखा गर्दै थिए।

उनीहरूको एउटै उदेश्य थियो विकासको काममा एक भएर हिँड्ने वातावरण बनाउनु। विजयपुर (ख) टोल संगठनको आयोजनामा पहिला निर्वाचित भएका र अहिले निर्वाचित भएर आएका जनप्रतिनिधिलाई गाउँलेले एकै ठाउँमा बोलाएर पाँच बर्षको समिक्षा सहित नयाँ योजजना सुन्न चाहेका थिए। उनीहरूले त्यही क्रममा स्वागत र बिदाइ पनि गरे। यो ५ वर्षमा भएको कामको समिक्षा गर्न र काम गर्ने क्रममा देखिएका केही त्रुटी भए नयाँ जनप्रतिनिधिलाई सच्याएर जाने वातावरण बनाउन पुराना जनप्रतिनिधिलाई स्थानीयको आग्रह थियो।

स्थानीय हरिप्रिया खतिवडाले ५ वर्षमा भएका राम्रा काम, सकारात्मक र रचनात्मक रूपमा वितेको भएपनि बाँकी कामहरुको बारेमा नयाँ जनप्रतिनिधिलाई बुझाएर जानु पर्ने सुझाव दिएकी थिइन्। सम्पन्न, मध्यम र न्युन आय भएका सुकुम्बासीको बसोवास रहेको क्षेत्रका नागरिकलाई उनीहरूको मागका आधारमा मिलाएर लग्न उनीहरूको सुझाव थियो।

टोल संगठनका अध्यक्ष डा. चन्द्र उपाध्यायले हिजो चुनावमा आउँदा ठिक र बेठिक छुट्याउने काम भएपनि अब निर्वाचित भएर आएपछि राम्रोलाई राम्रो नराम्रोलाई सुधार गरेर जान आग्रह गरे। निवर्तमान र निर्वाचित दुवै जनप्रतिनिधिले छलफल गरेर जाने हो भने गाउँटोला राम्रा कामहरू हुने उनको भनाइ थियो। ‘तपाईहरु हिजो र आजका दुवै जनप्रतिनिधि मिलेर हाम्रो गाउँ टोल बनाउने योजना सहित आउनुस्, उनले भने, हामी नागरिकको तर्फबाट वडाको विकासमा सबै खालको सहयोग गर्न तयार छौँ।’

निवर्तमान वडा अध्यक्ष उद्वव अर्यालले सक्षम नेतृत्व ल्याउन सकेकोमा खुसी व्यक्त गरे। नागरिकले महसुस गर्न पाउने खालको काम वडामा हिजो पनि भएको र भोलिका दिनमा पनि हुनेमा आफू विश्वस्त रहेको बताए। अप्ठ्यारोमा भोलि पनि आफूसँगै हुने बताएका अर्यालले नागरिकका समस्या र सारोगारो परेको बेला वडाले नै काम गर्नुपर्ने बताए। ‘अप्ठेरो परेको बेला कुनै सरकार, मन्त्री आउनेवाला छैनन्, उनले भने, स्थानीय वडा भनेको स्थानीयसँग जोडिने भएकोले स्थानीयका समस्या स्थानीय स्तरबाट नै समाधान खोजिनु पर्छ।’

नव निर्वाचित वडा अध्यक्ष काजी बहादुर बस्नेतले आफ्नो योजना नै टोल विकाससँग सल्लाह र समन्वय गरेर विकासका योजना अघि बढाउने रहेको बताए। टोल संगठनलाई जागरुक र सक्रिय बनाउने, भोलि पनि तिनै टोल संगठनले ल्याएका योजनाका आधारमा विकास निर्माणको कामलाई अघि बढाउँदा काम गर्न सजिलो हुने अफूले महसुस गरेको सुनाए। ‘निवर्तमान र वर्तमान जनप्रतिनिधि मिलेर काम गर्नेछौँ, बस्नेतले भने, बजेट थोरै आकांक्षा धेरै हुन सक्छन् त्यस्तो अवस्थामा प्राथमिकताको आधारमा अघि बढ्छु।’

डुबान समस्या समाधानको लागि पानी निकास, तटबन्ध, कच्ची सडकलाई ग्राभेल, ग्राभेललाई कालोपत्रे गर्ने भनेका छौ यी विषयलाई प्राथमिकतामा राखेर जानु पर्नेमा जोड दिए। सबै मिलेर वडालाई बनाउने र नमुना वडाको रूपमा विकास गर्न सबैको सहयोग हुनुपर्ने बताए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १ बाट उद्वव अर्यालले चुनाव जित्दा काजी बस्नेतले पराजय व्यहोरेका थिए। अहिले बस्नेत मैदानबाट जनप्रतिनिधि भएर आउँदा अर्याल बाहिरिएका छन्। वडामा आउने र जानेका बीचमा समन्वय हुन सकेमा धेरै कामहरू पूरा हुने आशा स्थानीयको छ।

कार्यक्रममा नव निर्वाचित जनप्रतिनिधिहरू काजी बहादुर बस्नेत, वडा सदस्यहरू खुस्बू वि क, मोहन कर्ण कार्की, लक्ष्मी राईनी र शुशील गुभाजू सहभागी थिए भने निवर्तमान जनप्रतिनिधिहरूमा वडा अध्यक्ष उद्वव अर्याल, सदस्यहरू भगवती परियार, रमेश शाह, कमला रिजाल र पवन भट्टराई सहित करिब २ सयको उपस्थिति थियो।

तस्वीरहरूः
No description available.No description available.No description available.No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *