सन्दर्भ : उभाैली साकेला

खार्ताम्छालीहरूकाे ‘उभौली चारी’काे नालीबेली !

काठमाडाैँ । साकेला किराँती समुदायहरूकाे महान् पर्व हाे । किराँतीहरू वर्षमा दुईपटक साकेला मनाउँदछन्; जुन आजै पनि काठमाडाैँका विभिन्न ठाउँहरूमा मनाइँदैछ । उधाैली र उभाैली गरी किराँतीहरू वर्षमा दुईपटक साकेला मनाउँछन् । जहाँ उनीहरूले प्रकृतिकाे पूजा गर्ने पनि गर्छन् । त्यसैले उनीहरूलाई ‘प्रकृतिपूजक’ समेत भनिन्छ । किराँती पूर्खाहरू आफूहरू ‘प्रकृतिपूजक भूमिपुत्र’ भएकाे बताउँछन् । साेलुखुम्बुका एक किराँती पूर्खा भीमबहादुर राई भन्छन्, ‘हामी किराँतीहरू पूर्खाहरूलाई पछ्याउने मान्छे हाैँ । हाम्राे समुदायका सबै सदस्यहरूले अग्रज (पूर्खा) लाई खुबै मान्छन् यही हाम्राे समुदायकाे राम्राे पक्ष पनि हाे । हाम्राे पूर्खाहरूले भनेझैँ हामी भूमिपुत्र हाैँ । हामी प्रकृतिकाे पूजा गर्छाैँ ।’

किराँतीहरूले वर्षमा दुई पटक; उधाैली र उभाैली गरी प्रकृतिकाे पूजा गर्छन् । उनीहरू जाडाेकाे याममा उँधो (तल) झर्नुपर्छ भन्ने मान्यता राख्छन्; जसलाई उधाैली भनिन्छ भने गर्मीकाे समय उँभाे (माथि) लाग्नुपर्छ भन्ने सम्झन्छन् भन्ने गरिन्छ; जसलाई उभाैली भनिन्छ । त्यसबखत उनीहरूले प्रकृतिसँग भर-भाकल गर्ने र पूजा गर्ने चलन रहेकाे पूर्खाहरू बताउँछन् ।

त्यसाे त साकेला मनाउने शैली भने किराँतीहरूभित्र पनि फरक-फरक छ । यसलाई पुकार्ने काम पनि फरक-फरक रहेकाे पाइन्छ । याे भूगाेलअनुसार फरक पर्ने जानकारहरू बताउँछन् । पूर्खा राई थप्छन्, ‘मनाउने विषय उही भएपनि मनाउने शैलीमा भने भिन्नता पाइन्छ सँगै नाम पनि भिन्नै राईहरूले भिन्नै नामले पुकार्छन् ।’ लिम्बुहरू यसलाई चासाेक भन्छन् भने ताङ्नास/याख्खाहरूले चासुवा भनेर पुकार्छन् । खालिङहरूले वाङ, तोस/सुनुवार तथा चाम्लिङ र थुलुङहरू यसलाई साकेला नै भनेर चिन्छन् । कुलुङहरूले भने यसलाई ताेस भन्छन् । यस्तै साङपाङहरूले सखेवाकाे नामले चिन्छन् ।

स्वामी प्रपन्नचार्यले भनेका छन्, ‘वर्षमा एकफेर सबै बूढाबूढी, अर्धबैंशे, तन्नेरी-तरुनी र विजुवा सबैले मुन्धुम गाउँदै सानो खुर्पाले अदुवा वा अदुवा नपाएको खण्डमा कचुरको चाना हान्दै/काट्दै नाच्ने खुसी मनाउने परम्परा छ । यसले सहकाल शब्दको भावार्थ राख्छ । यही सहकाल शब्द नै अपभ्रंश भई साकेला हुन गएको हाे ।’ किराँतीहरू अन्नबालीकाे सहमा पनि खुबै विश्वास गर्छन् । किराँती समुदायका आदीम पूर्खाहरूले पनि यसैगरी विश्वास राख्दै आएकाे बताइन्छ । अझै किराँतीहरूले अन्नबाली भित्र्याउने बेलामा सह बाेलाउने भनी पूजाआराधना गर्दछन् ।

०००

किराँती समुदायबारे जानकार चन्द्रबहादुर राई ‘हतुवाली’ ले एकठाउँ लेखेका छन्, ‘सामान्यतया: पूर्णिमाको दिन शुरू भएर ठाउँ वा गाउँअनुसार फरक दिन पारेर १५ दिनसम्म साकेला नाच्ने चलन छ । भोजपुरको दक्षिणी क्षेत्र आम्चोकतिर र खोटाङको पूर्वी दक्षिणी क्षेत्रतिर भने बैशाख र मंसिरे पूर्णिमालाई छेको पार्न पर्दैन । उभौली साकेला चैतेदशैं पूर्णिमाको आउने सोमबारबाट शुरू भएर बैशाखदेखि जेष्ठसम्म फरक गाउँमा फरक समयमा मनाइन्छ । उधौली वडादशैं पूर्णिमाको आउने सोमबारबाट शुरू हुन्छ । साकेला मनाउने दिन सोमबार हुनुपर्छ ।’

भोजपुर खार्ताम्छातिर भने मंसिर पूर्णिमा उधौलीमा भन्दा पनि बैशाख पूर्णिमाको पञ्चमीको दिन साकेला/चण्डी नाच्ने गरिन्छ । खार्ताम्छालीहरू उभौलीलाई उभौली सखेवा चारी भन्ने गर्दछन् भने उधौलीलाई उभाैली सकेवा चारी भन्ने गर्दछन् । उनीहरु उधौली सखेवामा चारी सिमेभूमे, नाग-नगिना, देवी-देवतालाई पूजा गर्ने गर्दछन् भने उभौली सखेवा चारी महत्त्वपूर्ण चाडको रूपमा मनाउने गर्दछन् ।

वैशाखमा पर्ने उभौली साखेवा चारी खार्ताम्छाली राईहरूले पञ्चमीको दिनसम्म मनाउने गर्दछन् । उभौली साखेवा चारीको वैशाख पूर्णिमाका दिन देवी पूजा गर्दछन् । यसरी पूजा गर्दा आफ्नो अन्नबाली राम्रो होस्, रोगव्याधी नलागोस् भन्दै सन्तानको सु-स्वास्थ्यको कामनासमेत गर्ने गरिन्छ ।

पूर्णिमाको दिनदेखि पञ्चमी दिनसम्म मनाउने यो पर्व, पूर्णिमाको दिन गाउँभरीको प्रत्येक घर-घरमा गई चुल्हा बोलाउने गरिन्छ । चुल्हा बोलाउनु भन्नाले पृतिहरूलाई ‘हामी चारी पूजा गर्दैछाैँ है’ भनी जानकारी गराउनु हो । चुल्हा बोलाउन जाँदा ढोले, धामी, पूर्खाहरु जाने गर्दछन् । चुल्हा बोलाउन जाँदा घरैपिछे धामीले कचुर हान्दै आफ्नो भाषामा चुल्हा बोलाउने काम गर्दछ । यसरी चुल्हा बोलाउने काम सकिएपछि पञ्चमीको दिन विजुवाद्वारा तोसखोममा (गल्ती भएकोलाई माफी/सजाय दिने वा जानकारी गराउने ठाउँ) पनि ‘हामी सखेवा चारी पूजा गर्दैछाैँ है’ भनी जानकारी गराइन्छ ।

यसरी तोसखोममा जानकारी गराउँदा ढोले, छेकूमा (छोरीचेली) सँगै गएका हुन्छन् । छेकूमाले थुम्सेमा पूजा सामाग्री बोकेका हुन्छन् । त्यहाँ पनि धामीले कचुर हान्छन् । यसरी तोसोखोममा जानकारी गराइसकेपछि ढोले र चण्डी नाच नाच्नेहरु थान भएको ठाउँमा धामीसँगै जाने गर्दछन् । ढोले, झयाम्टे, चण्डी नाच नाच्नेहरु थानभन्दा केही पर सखेवा नाच्न थाल्दछन् भने थानमा धामीले संसारी सिमे-भूमे, सखेवा चारी पूजा गर्न थाल्दछन् ।

यसरी गरिने सखेवा पूजामा निम (मुख्य बली) अर्थात् गाउँभरीका गाउँलेहरूबाट पैसा उठाएर व्यवस्था गरिएकाे जनावर; त्यसमा निमकाे रूपमा राँगा वा सुँगुर हुन्छ । साे बलीकाे छोक्मासा (प्रसाद) बनाइन्छ । छोक्मासा उक्त मुख्य बली दिइएकाे जनावरकाे कलेजो, मुटु, फियो, मृगौला, खिसा, ह्याकुला, कान, खुर, पुच्छर, फोक्सो र ढकनीलाई एकै शिलमा उनेर पाेली बनाइन्छ । यसरी बनाइएको छोक्मासा चण्डी थानमा चढाइन्छ । छोक्मासा चढाएपछि भाकलको बली दिने गरिन्छ । भाकल सिद्ध्याएपछि अघि बनाएर चढाइएको छोक्मासा चण्डी थानमा आउने सबैलाई प्रसादका रूपमा बाँड्दै पूजा सकाइन्छ ।

पूजा सकेपछि गाउँलेहरूकाे पूर्वसल्लाहअनुसार चारी थानमा बजाइएको बाजाहरू गाउँकै पायक पर्ने एक घरमा राख्ने गरिन्छ । यी बजाएका बाजाहरू विशेष किसिमकाे हुने हुँदा धामीको पूजाबिना राख्न र झिक्न नमिल्ने हुन्छ । त्यँहा (बाजा राख्ने ठाउँ) पनि पूजा गरी एउटा कुखुराकाे भोग दिइ थन्क्याइन्छ । यसरी निश्चित ठाउँमा थन्क्याइएकाे बाजा एक वर्षसम्म चलाउने गरिँदैन ।

बाजा राखिएको घरमा महसमेत राख्ने गरिन्छ । मह राख्ने ठाउँमा आएर सबै नाच्ने परम्परा रहेकाे छ । उक्त नाचमार्फत मह राख्ने घरको चुल्हाको पितृहरूलाई ‘हामीले यसरी खेती गर्‍याैँ अब यसरी थन्काउँदै छौँ’ भनेर सह माग्ने चलन चलिआएको छ । नाचमा पूर्खाले गरिआएको खेतीपाती शिल्लीमा देखाइन्छ । जहाँ हाम्रा पूर्खाले शिकारीयुगदेखि हालसम्म गर्दै आएका कृषिका प्रक्रियाहरू पर्ने गर्छन् । उदाहरणका लागि भस्मे फाँड्ने (जंगल फाडी डढेलाे लगाउने काम),खन्ने, बिउ राख्ने, रोप्नेदेखि अन्न बाली काटेर थन्काउने बेलासम्मका कर्महरू । सबै शिल्लीहरू सिद्धिएपछि छेकूमाले आफूले बोकेको थुम्से, मह राख्ने घरको भकारीमा खनाउँछिन् । यसरी मह राख्दा अन्नबालीका सह बस्ने जनविश्वास रहेकाे छ ।

यसरी बाजा थन्क्याउने प्रक्रियालाई चासूम पनि भनिन्छ ।

चसूम भएपछि छेकुमा र विजुवाकाे शिर उठाइन्छ । शिर उठाउँदा छेकुमालाई धन्यवादस्वरूप एक टपरी मासु र एक शेर (एक बाेतल) रक्सी दिइन्छ । अन्तमा चारीथानमा चढाइएकाे भोगको टाउकोहरू पकाएर प्रसादको रूपमा बाँडेर फेरी खाइन्छ । यसरी चारी पूजाको सम्पूर्ण काम सम्पन्न हुन्छ ।

चेली अनि पूर्खाहरू मानभाउ दिदैँ मनाइने यो चाड ‘चारी पूजा’ खार्ताम्छालीहरुको मुख्य पहिचानको रुपमा हेरिनुपर्छ, अरुको भन्दा भिन्न यो परम्परा पुरानो पुस्ताहरुले युवाहरुलाई हस्तान्तरण गरिनुपर्छ । युवाहरुले पनि आफ्नो संकार संस्कृतिको आदार र सम्मान गर्नुपर्छ र संरक्षण गर्नुपर्छ । यो एक भिन्न परम्परा खार्ताम्छालीहरूकाे  पहिचान बन्न सक्छ भन्नेमा लेखक विश्वस्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *