यी तीन स्वतन्त्र उम्मेदवार, जसले ‘मै हुँ’ भन्ने दलहरूकाे सेखी झारे

काठमाडाैँ । काठमाडाैँ महानगरका बालेन्द्र (बालेन) साह, धरान उपमहानगरका हर्कराज सामपाङ र धनगढी उपमहानगरका गाेपाल हमाल; जसलाई वैशाख ३० गतेसम्म ठूला राजनीतिक दलहरूले वास्तासमेत गरेका थिएनन् । तर, अहिले तिनै वास्ता नगरिएका स्वतन्त्र उम्मेदवारहरूले ठूला राजनीतिक दलहरूलाई धरधरी रुवाइरहेका छन् । ताजा मतपरिणामअनुसार यी उम्मेदवारहरू ठूला दलहरूभन्दा कति हाे कति अगाडि छन् । एक हिसाबले भन्ने हाे भने ठूला राजनीतिक दलहरूले यी उम्मेदवारहरूलाई एउटा अनुपात राखेर पछ्याउनसमेत सकेका छैनन् ।

मतदानअघिसम्म ठूला राजनीतिक दलका शीर्ष नेताहरूकाे ‘जहाँतहीँ हामी पहिलाे शक्ति हुन्छाैँ’ भन्ने सेखी यी उम्मेदवारहरूले नमज्जासँग झारेका छन् । उनीहरूले फराकिलाे मतान्तर बनाउँदै ठूला राजनीतिक दलका उम्मेदवारहरूलाई पछि पारेका छन् । त्यसाे त आफूहरूले स्वतन्त्रहरूले यत्तिकाे सनसनी मच्चाउन नसक्ने नै भनेर बसेकाे गठबन्धनसम्बद्ध दल माओवादी केन्द्रका नेता वर्षमान पुन बताउँछन् । ‘उहाँहरू कसैलाई काेड गरेकै थिएनाैँ,’ नेता पुनले भनेका छन्, ‘तर उहाँहरूकाे पक्षमा यत्तिका जनमत देखियाे । एक हिसाबले हामी पनि अचम्मित छाैँ । हामीले याेतर्फ साेचेकै पनि थिएनाैँ । यसबारे अब सबै दलहरूले समीक्षा गर्नेबेला आएकाे छ ।’

२०७४ सालकाे चुनावअनुसार सबैभन्दा ठूलाे दल एमालेका नेता सुवासचन्द्र नेम्वाङ्ग पनि उस्तै सुनाउँछन् । यसपटक स्वतन्त्र उम्मेदवारहरूले साेचेभन्दा बढी जनमत पाएकाे उनकाे ठम्याइँ छ, भन्छन्— ‘उहाँहरूले पाउनुभएकाे जनमतबारे हामी निर्मम समीक्षा गर्नेछाैँ । यसपटक उहाँहरूले नसाेचिएकाे जनमत पाउनुभएकाे छ । यद्यपि यसलाई नराम्राे मान्नुचाहिँ हुँदैन । सबैकाे जनमत र अधिकारकाे सम्मान गर्नुपर्छ ।’

तर, स्वतन्त्र उम्मेदवारहरूले पाएकाे जनमत भने साेचभन्दा बाहिरकाे कुरा रहेकाे उनी बताउँछन् ।

000

काठमाडाैँ महानगरका बालेनले पाँचदलीय गठबन्धनकाे तर्फबाट मेयरकाे उम्मेदवार बनेकी सिर्जना सिंहलाई दाेब्बर मतले पछाडि पारेका छन् । सिर्जनाले १५ हजार ५७ मत प्राप्त गर्दा बालेन २९ हजार ५ सय ८२ मतका साथ अग्रस्थानमा छन् । सिर्जनासँग बालेनले १४ हजार ५ सय २५ काे मतान्तर बनाएका छन् ।

बालेनले सिर्जनाभन्दा अगाडि रहेका एमाले उम्मेदवार केशव स्थापितलाई पनि १३ हजार ६ सय ६१ मतले पछाडि पारेका छन् । केशवले अहिलेसम्म १५ हजार ९ सय २१ मत पाएका छन् । सिर्जनाभन्दा केशव ८ सय ६४ मतले अगाडि छन् । यसरी स्वतन्त्र उम्मेदवार बालेनले पाँचदलीय गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारलाई भारी मतका साथ पछाडि पारेका छन् ।

♦ याे पनि:
   ५ महानगरमा गठबन्धनकाे अग्रता, काठमाडाैँमा स्वतन्त्रसँग गठबन्धन र एमाले आछु-आछु

धरान उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार हर्कराजले ‘लीड’ गरिरहेका छन् । उनले पाँचदलीय गठबन्धन र एमालेलाई तलै छाडेका छन् । चुनाव चिह्नमा लाैराे नै पाएका उनकाे पक्षमा अहिलेसम्म १३ हजार ६ सय ६१ मत देखिन्छ । शनिवार बिहान ६ बजेसम्मकाे चुनावी नतिजा हेर्ने हाे भने उनले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका किशाेर राईलाई २ हजार ६४ मतले पछाडि पारेका छन् ।

हर्कराजले २ हजार ६४ मत बढी पाउँदा किशाेर ११ हजार ५ सय ६७ मा खुम्चिएका छन् । त्यहाँ एमालेकाे तर्फबाट उम्मेदवार बनेकी मञ्जु भण्डारी सुवेदीकाे पक्षमा ९ हजार ४ सय ४३ मत देखिएकाे छ । ४ हजार १ सय ८८ मतले हर्क मञ्जुभन्दा अगाडि छन् । यसरी त्यहाँ पनि स्वतन्त्र हर्कले गठबन्धन र एमालेलाई ठाडाे चुनाैती दिएका छन् ।

उता धनगढी उपमहानगरमा पनि गठबन्धन र एमालेकाे हालत फरक छैन । चुनाव चिह्नमा आँप पाएका गाेपाल हमालका पछिपछि छन् गठबन्धन र एमालेका उम्मेदवार । त्यहाँ गाेपालले गठबन्धनका उम्मेदवारभन्दा दाेब्बरभन्दा बढी मत बटुलेका छन् । गाेपालकाे पाेल्टामा २० हजार ६ सय मत देखिँदा गठबन्धनका उम्मेदवार नृपबहादुर वडसँग ९ हजार ९ सय २५ मात्रै मत छ । याे आँकडाअनुसार नृपबहादुरभन्दा गाेपाल १० हजार ६ सय २५ मतले अगाडि छन् ।

यस्तै एमालेकाे तर्फबाट गाेपालसँग चुनावी मैदानमा भिडेका रणबहादुर चन्द नृपबहादुरभन्दा अझै पछि छन् । उनले बल्लतल्ल ४ हजार १ सय १४ मत पाएका छन् । याे मत नृपबहादुरकाे भन्दा ५ हजार ११ ले कम हाे भने गाेपालकाे भन्दा १५ हजार ६ सय ८६ मतले थाेरै हाे । यसरी गाेपालले पनि गठबन्धन र एमालेकाे सेखी झारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *