५ महानगरमा गठबन्धनकाे अग्रता, काठमाडाैँमा स्वतन्त्रसँग गठबन्धन र एमाले आछु-आछु

महानगरमा एमाले धेरै पछि

काठमाडाैँ । देशभरका ६ सय ३४ भन्दा धेरै पालिकाहरूकाे चुनावी नतिजा सार्वजनिक भइसकेका छन् । अपराह्न ५ बजेसम्म देशका ७५३ वटा पालिकामध्ये ६ सय ३४ भन्दा धेरै पालिकाहरूकाे चुनावी नतिजा सार्वजनिक भएका छन् । सार्वजनिक चुनावी नतिजाअनुसार सबैभन्दा दह्राे दल नेपाली कांग्रेस ठहरिएकाे छ भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) क्रमश: दाेस्राे र तेस्राे ठूला दल सावित भएका छन् ।

तर, पालिकाहरूमा पनि सबैभन्दा महत्त्वका साथ ६ महानगरलाई हेरिएकाे छ । यी ६ वटै महानगरमा मतगणना सकिएकाे छैन । तर बढीजसाे वडाहरूमा भने मतगणना सकिएकाे निर्वाचन अधिकृतहरूले बताएका छन् ।

०००

काठमाडाैँमा मुख्य प्रतिस्पर्धीकाे रूपमा ३ उम्मेदवारलाई हेरिएकाे छ । यहाँकाे अहिलेकाे ताजा मतपरिणाम हेर्ने हाे भने स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अग्रस्थानमा छन् भने उनलाई एमालेका उम्मेदवार केशव स्थापित र गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेका छन् । तर, केशव र सिर्जनाभन्दा बालेन्द्र दाेब्बर मतले अगाडि छन् ।

साँझ ५ बजेसम्मकाे चुनावी नतिजाकाे आँकडा हेर्ने हाे भने केशवभन्दा बालेन्द्र १३ हजार ३ सय ३ मतले पछाडि छन् । सिर्जना भने अझै पछि छन् । उनले १५ हजार ५७ मत पाएकी छन् । बालेन्द्रले २८ हजार ६ सय ६२ मत पाउँदा केशव १५ हजार ३ सय ४९ मतमा सीमित भएका छन् ।

भरतपुर महानगरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल अगाडि छन् । उनले २१ हजार ९ सय ६४ मत प्राप्त गरेकी छन् भने उनका निकटम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीले १८ हजार ७ सय ७९ मत प्राप्त गरेका छन् । विजयभन्दा रेनु ३ हजार १ सय ८६ मतले अगाडि छन् ।

कांग्रेसबाट विद्राेह गरेर बागी उम्मेदवारी दिएका पूर्वसांसद गजन्नाथ पाैडेल पनि राेकिएका छैनन् । उनले ८ हजार २ सय २३ मत पाएका छन् ।

उता पाेखरा महानगरमा पनि गठबन्धनकै उम्मेदवारले ‘लीड’ गरिरहेका छन् । त्यहाँ गठबन्धनकाे तर्फबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य उम्मेदवार बनेका छन् । उनले साँझ ५ बजेसम्ममा २६ हजार ९ सय ६८ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार कृष्ण थापाले २३ हजार ६ सय ९८ मत बटुलेका छन् । कृष्णभन्दा धनराज ३ हजार २ सय ७० मतले अगाडि छन् ।

त्यहाँ राप्रपाका शंकर खरालले भने धनराजले कृष्णसँग बनाएकाे मतान्तरजत्ति पनि मन बटुल्न सकेका छैनन् । धनराजले कृष्णसँग बनाएकाे मतान्तर ३ हजार २ सय ७० हुँदा शंकरकाे मत भने जम्मा ३ हजार ७ सय ७५ रहेकाे छ ।

अर्काे महानगर ललितपुरमा पनि गठबन्धनकै उम्मेदवार अगाडि छन् । निवर्तमान मेयरसमेत रहेका गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनकाे पक्षमा २१ हजार ९ सय ४ मत खसेकाे छ । उनलाई पछ्याइरहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ हजार ५ सय २३ मत बटुलेका छन् । चिरिबाबुभन्दा हरिकृष्ण ९ हजार ३ सय ८१ मतले पछाडि छन् ।

यहाँका राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनकाे अवस्था पनि पाेखराका शंकरकाे भन्दा फरक छैन । अष्टबहादुरले २ हजार १ सय मत पाएका छन् ।

विराटनगर महानगरमा पनि गठबन्धनकै नागेश काेइराला अग्रस्थानमा रहेका छन् । उनले २५ हजार ३ सय १२ मतका साथ ‘लीड’ गरिरहँदा उनलाई पछ्याउन काेसिसमा रहेका एमालेका सागरकुमार थापाले १८ हजार ८ सय ३५ मत जम्मा गरेका छन् । उनीहरूकाे मतान्तर ६ हजार ४ सय ७७ छ ।

त्यहाँ स्वतन्त्र उम्मेदवार दिएका उमेशकुमार यादवले पनि ७ हजार ६ सय ६५ मत पाएका छन् ।

यस्तै मधेश प्रदेशकाे एकमात्रै महानगर वीरगञ्जमा पनि गठबन्धनकै उम्मेदवारकाे ‘लीड’ रहेकाे छ । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का नेता राजेशकुमार सिंह २२ हजार ५ सय १६ मतका साथ अग्रस्थानमा छन् भने ११ हजार ७ सय ८५ मतका साथ उनलाई एमालेका विजयकुमार सराबगीले पछ्याइरहेका छन् । राजेशकुमारभन्दा विजयकुमार १० हजार ७ सय ९० मतले पछि छन् ।

त्यहाँ राप्रपाका गिरिश गिरीले १ हजार २ सय २१ मत प्राप्त गरेका छन् ।

०००

काठमाडाैँबाहेकका महानगरहरूमा सत्तारुढ दलकै अग्रता छ । काठमाडाैँमा भने गठबन्धन र एमाले दुवैलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आछु-आछु पारिरहेका छन् । बालेन्द्र दाेब्बर मतका साथ अगाडि छन् । यसबाहेकका अन्य ५ महानगरमा गठबन्धनले नै ‘लीड’ गरिरहेकाे छ ।

महानगरहरूमा एमालेका उम्मेदवारहरू भने धेरै पछि परेका छन् । एमाले उम्मेदवारहरूकाे मत एक्लाएक्लै रूपमा राम्रै मानिएपनि ५ दलहरू एउटै कित्तामा उभिँदा एमाले अघि बढ्न सकेकाे छैन ।

(समाचारमा प्रस्तुत चुनावी आँकडा फेरिन्छन्, सबै महानगरमा मतगणना जारी छन् ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *