नारायणी पुलका सबै विद्युत पाेल भाँचिनेगरी चितवनमा भीषण हावाहुरी; ३ जनाकाे मृत्यु

चितवन । आज शुक्रबार राति चितवनमा भीषण हावाहुरीसहित आएको पानीले तीनजनाको ज्यान लिएको छ भने नारायणी पुलका सबै विद्युत पाेल भाँचिदिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेका अनुसार हावाहुरीले रूख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ।भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको हो।

भरतपुर महानगरका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५० र ५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको हो भने अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन्। उनीहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ।

हावाहुरीकै कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको पनि घटनास्थलमा नै मृत्यु भएको छ।

नारायणगढदेखि गैंडाकोटसम्म नारायणी नदीको पुलमाथि रहेका सबै बिजुलीका सबै पोल र पुलको रेलिङसमेत भीषण हावाहुरीले भाँचिदिएको छ। सबै पोल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन्। हावाहुरीका क्रममा गुडिरहेको ट्रकलाई नारायणी पुलमाथि नै लडाइदिएको तर पुलमा रहेको बारले गर्दा ट्रक नदीमा खस्नबाट भने जोगिएको छ। प्रहरीका अनुसार ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध भएको थियो। ट्रकलाई क्रेनको सहायतामा उठाएपछि अवरुद्ध राजमार्ग भने खुलेको छ।

भरतपुरस्थित सिनर्जी एफएम ९१.६ मेगाहर्जको टावर भाँचिदिनु, भरतपुरका अधिकांश भागमा विद्युत लाइन विच्छेद गरिदिनु, साझा पेट्रोल पम्पको छाना खसाई गुडिरहेको गाडी थिचिदिनु, भरतपुर अस्पताल हाताभित्रको पार्किङमा रूख ढलाई स्कुटर र मोटरसाइकल च्यापिदिनु, तोरीखेतमा रूख ढलाई घर भत्काइदिनु, डिभिजन सडक कार्यालयअगाडि रहेको वरको रूख ढलाई तीनवटा फिडरको ११ के भी प्रसारणको तारमा पर्दा करिब ३०० मिटर तार सहितको पोल भाँचिदिनु र बाटो अवरुद्ध पारिदिनुजस्ता अने वितण्डा शुक्रबार रातिको हावाहुरीले मच्चाएको जनाइएको च।

हाल घाइतेहरूको उद्धार र अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *