तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका टीकाराम खड्काले सात हजार ४८६ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकी स्यानी चौधरीले ६ हजार ९६१ मत प्राप्त गरेका छन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका जोगबहादुर रानाले पाँच हजार ९४७ मत प्राप्त गरे ।
हालसम्म १८ हजार १९३ मत गणना भएको छ ।
यसैबीच तुलसीपुर उपमहानगरपालिका–५ को वडाध्यक्षमा कांग्रेसका वीरेन्द्रकुमार शाह एक हजार ७१५ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पदम पोख्रेलले एक हजार २१ मत प्राप्त गरे ।
यसअघि तुलसीपुर–१ मा गठबन्धबाट होमकान्त सापकोटा निर्वाचित भएका छन् । वडा नं २ बाट नेकपा एमालेका भीमबहादुर कवर योगी, तुलसीपुर–४ मा गठबन्धबाट माओवादीका तुलसी थापामगर निर्वाचित भइसकेका छन् । अहिले तुलसीपुर उपमहानगरपालिका वडा नं ३, ६ र ७ को मतगणना जारी छ ।
तुलसीपुरमा एक लाख एक हजार ४६० मतदातामध्ये ७४ हजार ३३६ जनाले मतदान गरेका थिए ।








