कांग्रेसको विजय जुलुसमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

धनगढी । कञ्चनपुरमा कांग्रेसको विजय जुलुसमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ तिनचारास्थित दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु र अर्का घाइते भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा परेर भीमदत्त नगरपालिका–१० गज्जरका २८ वर्षीय वीरेन्द्र चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

गड्डाचौकीबाट सुकासालतर्फ आइरहेको चन्दले चलाएको म २ प ८०२४ नम्बरको मोटरसाइकल र भीमदत्त नगरपालिका–५ का ३५ वर्षीय प्रेमराज अवस्थीले चालक रहेको सुकासालदेखि गड्डाचौकीतर्फ गइरहेको म २ प २७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएका थिए ।

दुर्घटनामा परेर गम्भिर घाइते भएका चन्दको उपचारको क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते भएका अवस्थी भीमदत्त नगरपालिका–५ का कांग्रेसबाट नवनिर्वाचित अध्यक्ष पदम अवस्थीका भतिजा हुन् । विजय जुलुसको पछाडि रहेका अवस्थीले चलाएको मोटरसाइकल र चन्दले चलाएको मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अवस्थीको टाउको चोट लागेको छ । महाकाली अस्पतालमा उपचार हुन नसकेपछि उनलाई धनगढी रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *