रेनुले मतान्तर बढाइरहँदा एउटा सदस्य जितेन माओवादीले

चितवन । भरतपुर महानगरपालिकाको ८ वटा वडाको मतगणना सकिएको छ । यतिबेला वडा नं ९ र १० मतगणना भइरहेको छ । ८ वटा वडाको अध्यक्षमध्ये ६ वटामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । एउटामा नेकपा एमाले र अर्को एउटामा एकीकृत समाजवादीले जित हासिल गरिसकेको छ ।
२९ वटा वडा रहेको भरतपुरमा ८ वटा वडाको परिणाम आइसक्दा गठबन्धनबाट उमेदवार बनेकी नेकपा माआवादी केन्द्रकी जिल्ला इन्चार्ज रेनु दाहाल ३ हजारभन्दा बढी मतले अग्रता कायम राखेकी छन् । रेनुले अग्रता कायम राखिरहँदा उनको पार्टी माओवादी केन्द्रले ८ वटा वडामा एउटा सदस्य पनि जित्न सकेको छैन ।
पछिल्लो मतगणनाअनुसार रेनु दाहाल ३ हजार १२८ मतले अगाडि छिन्।४१ हजार ४१४ मत गणना सकिँदा रेनुको अग्रता कायमै छ । रेनुले १५ हजार ७४७ मत ल्याएकी छन् । नेकपा एमालेका विजय सुवेदीले १२ हजार ६१९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार ५१३ मत ल्याएका छन् ।
८ वटा वडामा माओवादीका १० जना वडा सदस्य चुनावी मैदानमा थिए । भरतपरमा राप्रपाले वडा नं ५ मा एउटा सदस्य जितेको छ, तर माओवादी केन्द्रले एउटा सदस्यमा पनि जित हासिल गर्न सकेको छैन ।
भरतपुर महानगरका मेयर माआवादीलाई दिएपछि धेरै वडा नेपाली कांग्रेसले लिएको छ । भरतपुरले २०७४ मा जितेको वडा नं १३, वडा नं २५ र २६ को वडाध्यक्षमा माओवादीका उमेदवार छन्, ती वडाको नतिजा आउन बाँकी नै छ ।
महानगरमा एक तिहाइ वडाको मतगणना सकिएको छ । एमालेले मतगणनाको प्रारम्भिक रुझान एमालेले अपेक्षा गरे अनुरूप छैन । ८ वटा वडाको नतिजा आउँदा एमालेले वडा नं ३ मात्र जितेको छ ।
माओवादीले आफ्नो बढी सदस्य रहेको दावी गरेको वडामा प्यानल नै आउने दावी गरेको छ । ‘गणना बाँकी नै छ, अहिले गणना भएका वडामा हाम्रो सदस्य संख्या नै कम थियो, अन्य वडामा सदस्यहरू आउने सम्भावना बढी छ, हेरौँ’ माओवादी केन्द्रका एक नेताले भने, ‘हाम्रो सम्पूर्ण ध्यान रेनु दाहाललाई नै जिताउन केन्द्रित भएका कारण यो अवस्था आएको हुन सक्छ, तर अन्य वडा गणना बाँकी नै रहेको हुनाले सदस्यहरू पनि पक्कै आउनेछन् ।’









