देशभरका ५७० स्थानीय तहकाे मतगणना सम्पन्न, कुन दलले कति जिते ?

काठमाडौँ । स्थानीय तह निर्वाचनकाे जारी मतगणनामा देशभरका ५७० स्थानीय तहकाे अन्तिम नतिजा सार्वजनिक भएकाे छ ।

देशका ७५३ पालिकामध्ये ५७० वटा पालिकाकाे मतगणना सकिएको हाे । पछिल्लाे नतिजाअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी स्थानीय तहमा जित हासिल गरेकाे छ ।

कांग्रेसपछि दोस्रो स्थानमा नेकपा एमाले र तेस्रो स्थानमा नेकपा (माओवादी केन्द्र) रहेको निर्वाचन आयाेगले जनाएकाे छ ।

५७० पालिकामध्ये कांग्रेस एक्लैले २५३ वटा पालिका प्रमुख तथा अध्यक्षमा जितेको छ । कांग्रेसले मतपरिणाम सम्पन्न भएकामध्ये ४४.३८ प्रतिशत पालिकामा जित निकालेको हाे ।

त्यस्तै, एमालेले हालसम्म १६४ पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । यो मतगणना सकिएका कूल पालिकाको २८.७७ प्रतिशत हो ।

माओवादीले हालसम्म १०५ वटा पालिका प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सम्पन्न भएकामध्ये १८.४२ प्रतिशत पालिकामा माओवादीका उम्मेदवार विजयी बनेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म १५ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । यो भनेको अन्तिम मतपरिणाम आएका पालिकामध्ये २.६३ प्रतिशत हो ।

नेकपा (एकीकृत समाजवादी)ले हालसम्म १२ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेको छ । मतगणना सकिएकामध्ये २.१० प्रतिशत पालिकामा एकीकृत समाजवादीको उम्मेदवारले जितेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म दुई वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । मतगणना सम्पन्न भएकामध्ये ०.३५ प्रतिशत पालिकामा लोसपाले जितेको छ ।

हालसम्म मतगणना सम्पन्न भएका पालिकामध्ये १९ वटामा अन्य तथा स्वतन्त्र उम्मेदवारले जितेका छन् । यो भनेको मतगणना सकिएका पालिकाको ३.३३ प्रतिशत हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =