यी ‘हेभीवेट’ नेता : जसले आफ्नाे दललाई आफ्नै गाउँमा जिताउन सकेनन्

काठमाडौँ । मुलुक संघात्मक प्रणालीमा गएपछिकाे स्थानीय तह सदस्यको दोस्रो निर्वाचन- २०७९ को नजिता धमाधम सार्वजनिक भइरहेका छन् । यो समाचार तयार पार्दासम्म देशका ७५३ पालिकामध्ये ५५२ भन्दा बढी पालिकाहरूकाे चुनावी नजिता सार्वजनिक भइसकेका छन् । जसमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले क्रमशः धेरै पालिकाहरू हात पारेका छन् ।

तर, उही ठूला दलका शीर्ष नेताहरूलाई आफ्नै पालिका र वडामा आफ्नाे दलका उम्मेदवार जिताउन हम्मे-हम्मे परेकाे छ । वैशाख ३० गते सम्पन्न मतदानमा प्रमुख राजनीतिक दलका नेताहरूले मतदान गरेकै उम्मेदवारहरू हारिरहेका छन् । ठूला दलका नेताका पालिका तथा वडामा साेही दलबाट उम्मेदवार बनेकाहरूले पराजय भाेग्नुपरिरहेकाे छ ।

ठूला दलका शीर्ष नेताहरूकाे पालिका तथा वडामा अर्कै दलले जित निकालिरहेका छन् ।

०००

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको वडामै कांग्रेसले पराजय भाेग्नुपर्‍याे । देउवा डडेलधुराकाे गन्यापधुरा गाउँपालिका १ का हुन् । जहाँ नेपाली कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवा नेपाली कांग्रेस (बीपी) का उम्मेदवार नरेश भण्डारीसँग पराजित भए । चन्द्रबहादुर ५ सय ४४ मत ल्याएर वडाध्यक्षमा पराजित हुँदैगर्दा कांग्रेस बीपीका उम्मेदवार भण्डारीले ६ सय ७४ मत पाए ।

देउवाले पनि चन्द्रबहादुरलाई नै मतदान गरेका थिए । तर, त्यहाँ कांग्रेसले पराजय भाेग्नुपर्‍याे । त्यहाँ करुवा चुनाव चिह्न भएको बीपीले जित निकालेको हो । त्यहाँ कांग्रेस बीपी र एमालेबीच चुनावी तालमेल भएको थियो ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको वडामा पनि एमालेले जित निकाल्न सकेन । ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोटमा मतदान गरेका थिए । तर, त्यहाँ एमालेले हार व्यहाेर्नुपर्‍याे । त्यहाँ नेपाली कांग्रेसले जित निकालेको छ । एमालेले वडा सदस्यसमेत जित्न सकेन ।

त्यहाँ कांग्रेसका प्रदीप कार्की १ हजार ५ सय ११ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी बनेका छन् । उनको निकटतम् प्रतिस्पर्धी एमालेका विश्वराज विष्टले १ हजार ३ सय ५ मतमात्रै प्राप्त गरे । खुला सदस्यमा कांग्रेसका जर्नादन खड्काले १ हजार ४ सय ७६ र भगत रानाले १ हजार ४ सय २४ ल्याई विजयी भए भने महिला सदस्यमा कांग्रेसकै कल्पना खतिवडा ‘दाहाल’ ले १ हजार ५२१ र दलित महिला सदस्यमा कांग्रेसकै रञ्जिता खत्रीले १ सय ५ सय १७ मतका साथ जितेका हुन् । यसपछि त्यहाँ कांग्रेसकाे प्यानलले नै विजय हासिल गर्‍याे भने एमाले शून्यमा खुम्चियाे ।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र माडीमा माओवादी केन्द्रले पनि पराजित नै हुन पर्‍याे । माडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार ऋषि काफ्लेलाई पराजित गर्दै एमालेकी ताराकुमारी काजी महतोले बाजी मारिन् । उनी यसअघिकी उपमेयरसमेत हुन् । महतो ९ हजार ९ सय १ मत प्राप्त गरेर मेयर बन्दा माओवादी केन्द्रका काफ्ले ७ हजार ७ सय २९ मतमै सीमित हुन बाध्य भए ।

ताराकुमारी ०७४ मा ४ हजार ६ सय ९० मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् । यसपटक माओवादी केन्द्रका काफ्लेलाई पराजित गर्दै अध्यक्ष बनेकी हुन् ।

जसपाका तर्फबाट उम्मेदवार बनेका बलदेव यादवले भने ७ सय ८२ मतमात्रै प्राप्त गरे । जसपासँग एमालेले ४ सय ३३ मतान्तर राख्दै जित निकालेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको वडामा पनि एकीकृत समाजवादीकै उम्मेदवार पराजित बनेका छन् । त्यहाँ केन्द्रीय गठबन्धनअनुसारको चुनावी तालमेल थियो । गठबन्धनबाट दलहरूले वडामा सन्तुलित भागबन्डा मिलाएर उम्मेदवार खडा गरेका थिए । तर, एकीकृत समाजवादीकै तर्फबाट वडा सदस्यका उम्मेदवार बनेका ईन्द्रबहादुर कटवाल पराजित बनेका हुन् । उनलाई एमालेका उम्मेदवार खड्गबहादुर गुरुङले पराजित गरेका हुन् ।

एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार दिएकाबाहेक अन्य गठबन्धन दलका उम्मेदवारहरूले भने जित निकालेका छन् । नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा गायत्रीराम बस्नेत विजयी बनेका छन् ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहपालिकामा पनि जसपाले पराजय भाेग्नुपर्‍याे । भट्टराईको गोरखाको पालुङटार नगरपालिका हो, जहाँ जसपाले नभइ माओवादी केन्द्रले जितेको छ ।

तर, जसपाले भट्टराईको वडामा भने जितेको छ । भट्टराईको वडा नं १ हो । त्यहाँ भने जसपाले जित हासिल गरेको छ । त्यहाँ जसपाका कृष्ण परियारले जित हासिल गरेका हुन् ।

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको गृहवडा विराटनगर महानगरपालिका १४ मा जसपाले पनि हार नै चाख्नुपर्‍याे । त्यहाँ नेकपा (एमाले) का सूर्यनारयाण महतोले बाजी मारेका छन् । उनले १ हजार २ सय १५ मत बटुल्दै वडाध्यक्षमा निर्वाचित बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *