थुलुङ दुधकोशी गाउँपालिका : असिम र सविता दोहोरिँदा एमाले शून्यमै रमायाे

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले शानदार जित हासिल गरेको छ । यहाँ अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्रले जित निकालेकाे छ । माओवादी केन्द्रले बहुसंख्यामा वडाहरूसमेत जितेको छ । ९ वटा वडा रहेको थुलुङ दुधकोशीमा ५ वटा वडा माओवादी केन्द्र एक्लैले जितेको छ ।

अध्यक्षमा माओवादी केन्द्रका नेता असिम राई विजयी बनेका छन् । ४ हजार ४९ मतसहित उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा दोहोरिएका हुन् । यसअघि २०७४ सालको स्थानीय तह सदस्यको निर्वाचनमा पनि अध्यक्ष पदमा विजयी बनेका राईले पुनः जित निकालेका हुन् । उनीसँग नेपाली कांग्रेसका वीरवबहादुर गुरुङ र नेकपा (एमाले) का आङबाबु राईले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले क्रमशः ३ हजार ५ सय ११ र १ हजार ६ सय १ मत प्राप्त गरे । निर्वाचित राईले ५ सय ३८ मतान्तर राखेर विजय लक्ष्य भेटाएका हुन् । उनी माओवादी केन्द्र, साेलुखुम्बु जिल्ला समन्वय समितिका अध्यक्षसमेत हुन् ।

यस्तै गाउँपालिका उपाध्यक्ष पदमा पनि माओवादी केन्द्रकै नेतृ सविता राई विजयी बनेका छन् । राईले ३ हजार ८ सय मत पाेल्टामा पार्दै विजयी बनेकी हुन् । उनीसँग चुनावी प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसकी एकाकुमारी बस्नेतले ३ हजार ५ सय २३ मत पाइन् भने नेकपा (एमाले)का कल्पना गिरीले १ हजार ७ सय ४६ मत बटुलिन् । निर्वाचित राई २ सय ७७ मतान्तर राख्दै विजयी बनिन् । उनी यसअघि पनि नेपाली कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमै विजयी बनेकी थिइन् । चुनावभन्दा अगाडि माओवादी केन्द्रलाई मन पराएर प्रवेश गरेकी उनी पुनः सोही जिम्मेवारीमा दाेहाेरिएका हुन् ।

माओवादी केन्द्रले बहुसंख्यामा वडाहरूमा समेत जित हात पारेको छ । ९ वटा वडा रहेको थुलुङ दुधकोशीगमा २, ५, ७, ८ र ९ वडाहरूमा माओवादी केन्द्रकै नेताहरू विजयी बनेका छन् । यी वडाहरूमा क्रमशः युजन बस्नेत, चन्द्रबहादुर राई, भोजराज कार्की, राजेश राई र सनकुमार तामाङ विजयी बनेका हुन् ।

यहाँ माओवादी केन्द्रले शानदार जित निकाल्दा नेकपा (एमाले) लाई भने शून्यमै रमाउनुपरेको छ । अध्यक्ष उपाध्यक्षसहित ५ वटा वडाहरू माओवादी केन्द्रले जित्दा बाँकी अन्य ४ वटा वडाहरू नेपाली कांग्रेसले जितेको छ । यसो हुँदा यहाँ एमाले शून्य भएको छ । थुलुङ दुधकोशीमा केन्द्रीय गठबन्धनअनुसारको चुनावी तालमेल थिएन । यहाँ गठबन्धनमा रहेका दलहरू माओवादी केन्द्र र नेपाली कांग्रेसले मित्रवत् प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + nine =