कञ्चनपुर गड्डाचौकी नाकामा सशस्त्र प्रहरीद्वारा महिलामाथि हातपात; २ राउण्ड हवाई फायर

काठमाडौँ । कञ्चनपुरको गड्डाचौकी नाकामा हिजो सोमबार भारतबाट नेपाल फर्किँदै गरेका महिलाहरूमाथि सशस्त्र प्रहरीले हातपातको प्रयास गरेका छन्।

सो घटनापछि एक महिला घाइते भएकी छन्।  महिला घाइतेभएसँगै स्थिति तनावग्रस्त बनेपछि सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायर गरेको हो। सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ सरसामान ‘क्यारिङ’ गर्ने महिलामाथि हवाई फायर गरेको हो।

भारतको बनबसा बजारबाट नेपालतर्फ सामान ल्याइरहेका महिलाहरूलाई सशस्त्र प्रहरीले गड्डाचौकीस्थित व्यारियलमा रोक्न खोजेको उल्लेख गर्दै एक प्रत्यक्षदर्शीले भने, ‘त्यसपछि स्थिति तनावग्रस्त भयो। क्यारिङ गर्ने महिलालाई सशस्त्र प्रहरी जवानले हातपात गरेपछि उनी घाइते भइन्।’

उनका अनुसार घाइते महिला जानकी नाथको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। सशस्त्र प्रहरीले महिलामाथि हातपात गरेपछि आक्रोशित स्थानीयको भीडले सशस्त्र प्रहरीमाथि ढुंगा प्रहार गर्न थालेका हुन्। भन्सार सुरक्षार्थ खटिएका एक सशस्त्र प्रहरीका अनुसार आक्रोशित भीड नियन्त्रणभन्दा बाहिर गएपछि सशस्त्र प्रहरीले हवाई फायर गरेका हुन्।

कुटपिट गर्ने र फायर खोल्ने सशस्त्र प्रहरीलाई सार्वजनिक गर्नुपर्ने भन्दै नाकामा स्थानीयको नाराबाजी जारी छ भने नेपाल प्रहरीको टोली पनि त्यहाँ पुगिसकेको छ।

प्रहरीले भने तस्करी नियन्त्रण गर्न खोज्दा क्यारिङ गर्ने महिला र सशस्त्र प्रहरीबीच सामान्य विवाद भएको भन्दै अवस्था सामान्य भइसकेको बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *