निष्पक्ष चुनाव नभएको भन्दै चुमनुब्रीमा पुनः निर्वाचन हुनुपर्ने सर्वदलीय माग

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिकामा पुनः मतदान गर्नुपर्ने माग अघि सारेपछि तनाव सिर्जना भएको छ । मतदान सकिएर गणनाका लागि बसेको सर्वदलीय बैठकमा सबै दलले पुनः मतदानको माग राखेका हुन् ।
केही ठाउँमा स्वच्छ निर्वाचन नभएको गुनासो सहित उनीहरूले पालिकाभरी पुनः मतदानको माग राखेका निर्वाचन अधिकृत नानीबाबु पोखरेलले जानकारी दिए ।
‘उहाँहरूले बैठकमा राख्नुभएको हो । तर त्यो सम्भव भएन,’ उनले भने । त्यसपछि आयोगलाई जानकारी गराएकोमा आयोगले पुनः मतदान सम्भव नभएको प्रतिक्रिया दिएको पोखरेलले बताए । ‘आयोगले निर्णय गरेर पठाईसक्यो । अव पुनः चुनाव हुँदैन,’ उनी भन्छन्, ‘यो च्याप्टर तत्कालका लागि स्थगीत भएको छ ।’ वैशाख ३० गते नै निर्वाचन सम्पन्न भएको यहाँ आइतबार मात्रै मतपेटिका संकलन भएको थियो ।
आइतबार साँझ नै सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेपनि स्थानीय दलका प्रतिनिधिहरूले पुनः निर्वाचनको माग गरेपछि अहिलेसम्म मतगणना सुरु हुन नसकेको हो ।








