बाजुराकाे रोचक दृश्य : जित्ने र हार्ने विजय जुलुसमा सँगसँगै काँधमा

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा एमालेको विजय जुलुसमा एक रोचक दृश्य देखियो । गौमुलमा एमालेका हरिबहादुर रोकाया विजयी भएपछि विजय जुलुस निकालियो । सोही विजय जुलुमा उनै रोकायासँग पराजित बनेको कांग्रेसका हिरेन्द्रबहादुर रोकाया पनि सामेल बने ।

त्यति मात्रै नभई विजयी हरिबहादुरसँगै हिरेन्द्रलाई पनि विजय जुलुसमा सहभागीको काँधमा चढाइयो । जुन तस्बीर अहिले सामाजिक सञ्जालमा समेत चर्चा पाइरहेको छ । हरिबहादुरले ३ हजार ४ सय ३४ मत ल्याएर विजय प्राप्त गरे भने नेपाली काँग्रेसका हिरेन्द्रले १४ सय ७० मत ल्याएर पराजय भोगे ।

बाजुरामा हारजित भएपछि प्रायः झै–झगडा धेरै हुने गरेका छन् । २०७४ मा स्थानीय चुनावको विषयलाई लिएर उच्च अदालतसम्म पुगे, केहीको अहिलेसम्म राम्रो बोलचाल नभएका उदाहरण पनि छन् । तर पराजित हिरेन्द्रले विजयी जुलुसमा सहभागिता जनाएर सकारात्मक सन्देश दिएको भन्दै उनको प्रशंसा भइरहेको छ ।

उनले एमालेको विजय जुलुसमा सहभागी भएको तस्बीर आफै फेसबुकमा राखेका थिए । जहाँ उनले लेखेको थिए, “लोकतान्त्रिक प्रणालीमा विजय सत्य कुरा हो । स्विकार्नुको विकल्प छैन । सत्ता शक्तिको पनि चुनावी प्रतिष्पर्धा । सम्पूर्ण गौमुल अविभावकको भूमिका हुनेछ भन्ने कुरामा मेरो पार्टीको सहयोग र जनभावना हरेक गतिलो प्रतिक्रिया दिने गरि साथ मतदान हुने विशेष आभार गर्दै गाँउपालिका अध्यक्ष सम्पूर्णलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना ।’

बाजुराको स्थानीय चुनावमा सुरुवातदेखिनै धेरै ठाउँमा झडप भएर हवाइ फायर समेत गर्नुपरेको थियो । सदरमुकाम मार्तडीमा राजनीतिक विषयलाई लिएर दैनिक झै–झगडा भइरहेका छन् । तर बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा भने त्यस्तो नभएर जितका उम्मेदवार र हारेका उम्मेदवार एकै र्यालीमा देखिएका छन् ।

यसले बाजुरामा झगडा मात्रै नभई सद्धभाव पनि हुन्छ भन्ने कुराको सन्देश गौमुल गाउँपालिकाले दिएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *