कञ्चनपुरको कृष्णपुरमा मतगणना स्थगित, पुनः मतदान हुनुपर्ने एमालेको माग

कञ्चनपर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मतगणना स्थगित भएको छ । कृष्णपुर नगरपालिकाको वडा नम्बर ९ को पञ्चाधीन माध्यामिक विद्यालयको बुथ केन्द्रको मतगणना गर्दा खसेको मत भन्दा बढी मतगणनासहित नतिजा सार्वजनिक भएपछि नेकपा एमाले र माओवादी केन्द्रले विरोध गरेका हुन् ।

पञ्चाधिन बुथ केन्द्रमा १ हजार ९ सय १४ मत खसेकोमा २ हजार ६४ मत गणना भएको भन्दै नतिजा प्रकाशित गरिएको थियो ।

कृष्णपुर नगरपालिकाका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रबहादुर बुढाले कम्पुटरमा डाटा इन्ट्री गर्दा गल्ती भएको जानकारी दिए ।

विवादपछि पुनः मत गणना गर्दा मुचुल्कामा उल्लेख भए अनुसारको मतपत्र पाइएको र पछि कम्प्युटरमा तथ्यांक इन्ट्री गर्दा गल्ती भएको बताए । उनले विवाद समाधानका लागि छलफल भइरहेको बताए ।

नेकपा एमाले र माओवादी केन्द्रले पुनः मतदान हुनुपर्ने माग राख्दै आएका छन् । तर, प्रमुख निर्वाचन अधिकृत बुढाले खसेको भन्दा बढी मत नभेटिएको र रेकर्ड राख्दा त्रुटी भएको भन्दै मतगणना सुचारु हुने बताए ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणम अनुसार नेकपा एमालेका मेयर उम्मेदवारले ५ सय २९, नेपाली कांग्रेसका मेयर उम्मेदवारले ८ सय ९८ र माओवादी केन्द्रका उम्मेदवारले ४ सय ७९ मत पाएका छन् ।

यस्तै वडा अध्यक्षमा पनि नेपाली कांग्रेसका उम्मेदवार एमाले भन्दा ३ सय २४ मतले अगाडि देखिएका छन् । निर्वाचन अधिकृतको कार्यालयले तथ्यांक रेकर्ड राख्दा भएको त्रुटी सच्चाएर मतपरिणाम सार्वजनिक गर्दा समेत नेकपा एमाले र माओवादी केन्द्रले विवाद गरेपछि मतगणना अगाडि बढ्न सकेको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *