गठबन्धनका पक्षमा आएको नतिजाका कारण एमाले अत्तालिएको कांग्रेसको टिप्पणी (विज्ञप्तिसहित)

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नेपाल सरकार र सत्ता गठबन्धनप्रति भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा लगाएको आरोपप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएको छ। नेपाली कांग्रेसका केन्द्रीय पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आज सोमबार प्रेस विज्ञप्ति सार्वजनिक गरी ध्यानाकर्षण भएको जानकारी गराएका हुन्।

निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरूको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले नेकपा (एमाले) अत्तालिएको कांग्रेसको टिप्पणी छ।

राष्ट्रहित र लोकतन्त्रको संरक्षणको उद्देश्यले भएको यो गठबन्धनको तालमेललाई गठबन्धनमा संलग्न हुनुहुने सबै राजनीतिक दल र सम्बन्धित दलका नेता तथा कार्यकर्ता, शुभेच्छुक र समर्थक मतदाताहरूले विश्वास गरेका कारण सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको उल्लेख गर्दै कांग्रेसले यसलाई स्वभाविक रूपमा लिन प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेको छ।

प्रतिपक्षी एमालेले निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारले योजनाबद्धरूपमा धाँधली गरेको आरोप लगाउनु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको नेपाली कांग्रेसले विज्ञप्तिमा बताएको छ।

सत्तारुढ गठबन्धनले निर्वाचन आचारसंहिताको मर्यादाभित्रै रहेर निर्वाचनमा प्रतिस्पर्धा गरेको उल्लेख गर्दै लेखेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको सरकारले स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गर्न सहयोग पुर्याउन कहीँकतै कमि गरेको छैन। यो स्मरण गराउन चाहन्छौँ कि जबजब नेपाली कांग्रेसको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ तब मात्र स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्भव भएको छ।’

कांग्रेसले सोही विज्ञप्तिमार्फत् नै स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसप्रति देखिएको जनसमर्थनकालागि सम्पूर्ण मतदाता, नेपाली कांग्रेसका शुभचिन्तक, समर्थक सबैलाई धन्यवाद ज्ञापन गरेको छ।

विज्ञप्तिः
No description available.
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *