फुङ्लिङमा प्रत्येक वडामा जित्दैपिछे विजय जुलुस, १२ पटक र्याली निस्किने

काठमाडौँ । गालामा रातो अबीर, खादै खादाले भरिएको घाँटी। हातमा पार्टीका झण्डा। सयौँको भीडभाड। वर्षा हुँदा पनि खुसीमा रमाउँदै नाचगान गरेको यो दृश्य ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको हो।

गए रातिदेखि ताप्लेजुङमा वर्षा भइरहेको छ भने शुक्रबार सम्पन्न स्थानीय तहको मतपरिणाम आउने क्रम पनि जारी छ। सदरमुकाम फुङ्लिङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा विजय उत्सव मनाउनेको भीड लागेको छ। विजय उत्सवसँगै गीत बजाउँदै र्यालीसहित फुङ्लिङ बजार परिक्रमा गर्दै जुलुस हिँडेको छ।

फुङ्लिङ नगरपालिकामा ११ वटा वडासहित प्रमुख र उपप्रमुखको विजयमा १२ पटक विजय जुलस निस्किने भएको छ। अहिले छ वटा वडाको मतगणना सम्पन्न भएको र छ पटक नै विजयोत्सवको जुलुसले विभिन्न नारा लगाउँदै फुङ्लिङ बजार परिक्रमा गरेका र अझै विजयोत्सवका जुलुस निस्कने क्रम जारी छ।

गए रातिदेखि निरन्तर वर्षा भइरको छ। वर्षाले निथ्रुकै भिजेर पनि खुसीयालीका साथ नेता, कार्यकर्ता र जनसमुदायसमेत विजयोत्सवमा सहभागी हुँदै आएका छन्। सदरमुकाममा मात्र होइन जिल्लाको नौ स्थानीय तहको केन्द्रमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयको परिसरमा पनि विजयोत्सव मनाउनेको भीड उस्तै छ।

फक्ताङलुङ गाउँपालिकाको अध्यक्ष पदमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय प्राप्त गरेसँगै यतिखेर विजयको उत्सव मनाउनेको भीड लागेको छ। सो गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन रहेको थियो।

उता मेरिङदेन गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएपछि विजयोत्सव मनाउन थालिएको छ। उपाध्यक्षमा एकीकृत समाजवादी विजयी भएको छ। वडाध्यक्षमा विजय भएसँगै वडा–वडामा समेत विजयोत्सव मनाउन सुरु भएको छ।

सात स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *