२५ वर्षका वडाध्यक्ष जसले कोरेका छन् सुन्दर सिम्थलीको खाका

काठमाडौँ । युवा अवस्था जसमा जो कोहीलाई पनि केही गर्छु भन्ने हुटहुटी र के गर्ने होला भन्ने दुबिधाले घेरेको हुन्छ । नेपालमा राजनीतिक इतिहास हेर्ने हो भने युवालाई पद र अवसर दिएको कम नै पाइन्छ ।

स्थानीय तहको निर्वाचन २०७९ मा भने युवाको उपस्थिति र उनीहरूले पाएको समर्थन गजबको छ । जसरी बालेन्द्र साहले युवा भएर सबैको आशाको केन्द्र बनेर राम्रो मत पाइरहेका छन्, त्यस्तै वडाको विश्वास जित्न सफल भएको अर्का युवा हुन् सुजन भण्डारी । उनले स्थापित दलहरूसँग प्रतिस्पर्धा गर्ने हिम्मत मात्र गरेनन् उत्साहजनक मत प्राप्त गरेर विजय पनि भए ।

हो मात्र २५ वर्षका सुजन भण्डारी काभ्रेपलान्चोकस्थित भुम्लु गाउँपालिका –२ सिम्थलीको वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षका उम्मेदवार चुनिएका थिए । भुम्लु–२ मा दुई ठूला दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेका थिए भने नेकपा एमाले र कांग्रेस एक्लै लडेको थियो । भुम्लु– २ मा जम्मा १०२८ मत खसेको थियो । त्यसमध्ये ४०६ मत प्राप्त गरी सुजनले विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कृष्ण कुमार कार्कीले ३०८ मत प्राप्त गरेका थिए । कार्कीमाथि भण्डारीले ९८ मतले विजय प्राप्त गरेका थिए । सुजनले बानेश्वर बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

अहिले सुजनलाई जितको खुसी मात्र छैन जिम्मेवारीको बाेझले पनि उसैगरी थिचेको छ । उनी भन्छन्, ‘मैले निकै मिहेनत गरेर प्रत्येक मतदातासँग प्रत्यक्ष भेटेर युवालाई अवसर दिन अनुरोध गरेको थिएँ । माहौल देख्दा जित्छु नै जस्तो भएको थियो । जिते पनि । अब मैले उहाँहरूलाई बाडेको सपनालाई यथार्थमा परिवर्तन गर्नुपर्ने छ । मेरो ठूला र भयकंर योजना बनाएको थिइन । मेरो गाउँको साना आवश्यकता जसमा कसैको आँखा र ध्यान पुगेको थिएन त्यही कुरालाई आफ्नो घोषणा पत्रमा राखेको थिएँ । मेरो गाउँमा गोरेटो बाटोदेखि खानेपानीका धारा जस्ता नभई नहुने आधारभूत विकासका काम यत्तिकै रहेका थिए । अबको ५ वर्षमा म यही आधारभूत आवश्यकता माथि काम गर्नेछु । ठूला सपना बाँडेर जनतालाई उल्याउनुभन्दा साना काम गरेर जनता खुसी बनाउने छु । शैक्षिक विकासको हिसाबले भुम्लु पिछडिएको छ । सञ्चालनमा भएका सरकारी विद्यालय पनि राम्रो र व्यवस्थित छैनन् । शैक्षिक गुणस्तर राम्रो छैन । आफू पनि युवा र विद्यार्थी भएको हैसियतले गाउँको शैक्षिक स्तरप्रति मेरो विशेष चासो छ । आफू भुम्लुको विद्यार्थी हुँदै गर्दा भोगेको समस्याले गर्दा शैक्षिक विकासको क्षेत्रमा सकेको योगदान गर्ने योजना छ । परिवर्तनको गति सधैँ सुस्त नै हुन्छ । त्यसैले ५ वर्षको समयमा उथलपुथल गर्छु भन्नु मूर्ख बन्नु हो । सकेसम्म धेरै र सकारात्मक परिवर्तन गर्नेछु । सुन्दर सिम्थली र भुम्लु बनाउनेछु । यसमा जसरी मलाई भुम्लुका जनताले मत दिएर साथ दिनु भएको छ त्यसरी नै काम गर्न साथ दिनु हुनेछ भन्नेमा विश्वस्त छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *