दक्षिणकालीमा प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौँ । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ। दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन्।

बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका हुन्। उनले सात हजार २०१ मत प्राप्त गरेका नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाएका छन्।

नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भएका छन्। यसअघिको निर्वाचनमा पनि उपप्रमुख पदमा विजयी भएका थिए। उपप्रमुख तामाङले सात हजार ६२३ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाएका छन्।

नौवटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ। कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ। वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन्। नगरपालिकामा १७ हजार ९१६ मतदाता छन्।

वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो। यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *