पाल्पाको रम्भामा मतगणना स्थगित

काठमाडौँ । पाल्पाको रम्भा गाउँपालिकामा मतगणना स्थगित भएको छ।

पाँच दलीय सत्ता गठबन्धन दलहरूले सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका छन्। गठबन्धन दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै मतगणनाका क्रममा ७४ फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग गरेका हुन्।

मतगणना ट्याली गर्ने क्रममा दलका प्रतिनिधि र कर्मचारीको तथ्याङ्कमा एकरूपता नभएपछि मतगणना स्थगित भएको रम्भा गाउँपालिका निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताए। निर्वाचन अधिकृत भण्डारीले दलहरूबीच सहमति नभएसम्मका लागि मतगणना स्थगित गरिएको बताए।

रम्भा गाउँपालिकाका नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मङ्गोल नेशनल अर्गनाइजेशनले विज्ञप्ति जारी गर्दै वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको बताएका छन्।

चार दलका प्रतिनिधिहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा मतपेटिका ढुवानी गर्ने क्रममा गठबन्धन दलका प्रतिनिधिहरू सहभागी नगराइएको, आवश्यक बिजुलीबत्तीको वैकल्पिक व्यवस्था नगरिएको, मतगणना स्थगित भइसकेपछि पनि दलका प्रतिनिधि नराखिएको, एक पक्षीय व्यक्तिहरूलाई प्रवेश दिइएको जस्ता आरोप लगाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “मतगणना कार्यमा संलग्न कर्मचारीहरूलाई नियमानुसार विभागीय कारबाही तथा पुनः मतदानका लागि माग गर्दै हालसम्म सार्वजनिक नतिजाप्रति असहमति रहेको व्यहोरा जानकारी गराउँदछौँ ।”

मतगणना शनिबारदेखि नै रोकिएको हो । वडा नं ५ ताहुँमा जम्मा एक हजार ९२२ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *