नेकपा एमालेको आरोप– प्रचण्ड र बहालवाला मन्त्रीले आचारसंहिता उल्लंघन गरे

चितवन । नेकपा एमाले चितवनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत बहालवाला मन्त्रीहरूले नै निर्वाचन आचारसंहिता आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ ।

सत्तारूढ दलका शीर्ष नेता र मन्त्रीहरूले नै आचारसंहिताको चरम उल्लंघन गरेको भन्दै एमाले चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा जारी गरिएको विज्ञप्तिमा मौन अवधिमा सरकारी गाडीको दुरुपयोग गरी मतदाता प्रभावित पार्ने र आर्थिक चलखेल गर्ने काम भएको उल्लेख छ । विज्ञप्तिमा भरतपुरमा आर्थिक चलखेल भएको सूचना प्राप्त भएको हुँदा छानबिन गरी उक्त कार्य रोक्न मागसमेत गरेको छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठ किसान, मन्त्रिपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठलगायतले मौन अवधिको समयमा निर्वाचन आचारसंहिताको कुनै प्रवाह नगरी उल्लंघन गरेको एमालेको आरोप छ ।

‘सरकारी सवारीसाधनको दुरुपयोग गर्दै भरतपुर महानगरपालिका र माडी नगरपालिकाका आममतदाताको घरघरमा पुगी प्रभावमा पार्ने काम गरेको र मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको भन्ने सूचना आएकाले आवश्यक छानबिन गरी सो कार्य तुरुन्त रोक्न एमाले चितवन जोडदार माग गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ ।

आचारसंहिताको गम्भीर उल्लंघन गर्ने माओवादी केन्द्र र कांग्रेसका भरतपुर र माडीका उम्मेदवारको उम्मेदवारी रद्द गर्नसमेत एमालेले माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + four =