एमाले चितवनद्वारा भरतपुरमा राज्यसत्ताको दुरुपयोग भएको आरोप; निष्पक्ष निर्वाचन हुनेमा शंका

काठमाडौँ । नेकपा एमाले चितवनले भरतपुर महानगरपालिकामा राज्यसत्ताको दुरुपयोग भएको आरोप लगाएको छ।

एमालेले निर्वाचनलाई प्रभावित गर्ने हिसाबले सत्ता गठबन्धनका नाममा राज्यको उच्च तहका व्यक्तिहरूबाट राज्यसत्ताको दुरुपयोग भइरहेको भन्दै निर्वाचन निष्पक्ष हुनेमा गम्भीर शंका व्यक्त गरेको हो।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले एक विज्ञप्ति जारी गरी निर्वाचन आचारसंहिताको चरम उल्लंघन गरी कानुन मिच्ने काम भएको आरोप लगाएका हुन्। निर्वाचन आचारसंहिताको उल्लंघन भइरहेको विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको समेत अध्यक्ष न्यौपानेले बताएका हुन्।

विज्ञप्तिमा लेखिएको छ, ‘भोलि वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न हुन गइरहेको छ। निर्वाचनको ४८ घन्टाअगावै मौन अवधि सुरु भई आजसम्म कायमै छ। तर, राज्य सञ्चालनको जिम्मा लिएका भनिएकाहरूबाटै नेपालको संविधान, नियम, कानुनलाई मिच्दै निर्वाचन आचारसंहिताको चरम उल्लंघन भइरहेको दृश्यले नेकपा एमाले चितवनको गम्भीर ध्यानाकर्षण भएको छ।’

मौन अवधिमा समेत माओवादी केन्द्रले दल र उम्मेदवारको प्रचार गरेको र मतदाताको घर घरमा पुगी प्रभावमा पार्ने काम गरेको र मन्त्री किसान श्रेष्ठ र उमेश श्रेष्ठले भरतपुर महानगरपालिकाभित्र आर्थिक चलखेल गरेको आरोपमा एमाले चितवनले उनीहरूमाथि कारबाहीको माग गरेको छ।

विज्ञप्तिमा लेखिएको छ, ‘आचारसंहिता गम्भीर उल्लंघन गर्ने नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका भरतपुर महानगरपालिका र माडी नगरपालिकाका उम्मेदवारहरुको उम्मेदवारी रद्द गर्ने प्रक्रियासमेत अगाडि बढाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौँ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *