चुनावकाे दिन पानी परेछ भने छाता ओढेर मतदान हुन्छ : निर्वाचन आयोग

काठमाडाैँ । वैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन देशभर पानी पर्ने अनुमान मौसम विभागले गरेको छ ।

निर्वाचन हुनुभन्दा एक हप्ताअघि माैसम विभागले निर्वाचनको दिन पानी पर्नसक्ने अनुमान गरेपनि त्यो दिन कसरी सुरक्षित तरिकाले मतदान गराउने भन्ने सन्दर्भमा आयोगले कुनै तयारी गरेकाे देखिएकाे छैन ।

आयोगका प्रवक्ता तुलसी बहादुर श्रेष्ठले मतदानस्थल नै सुरक्षित चुनिएकाेले पानी पर्दा समस्या नदेखिने बताए । उनले भने, ‘हामीले मतदान गर्ने स्थल नै सकेसम्म सुरक्षित हुने खालको छानेका छौ । यदि पानी पर्यो भने पनि मतपेटिका र खटिएका कर्मचारी सुरक्षित नै भइहाल्नुहुन्छ । मतदाताले त छाता ओढेर भए पनि मतदान गरी हाल्नुहुन्छ । त्यही पनि हामीले स्थानीय तहलाई सकेसम्म राम्रो व्यवस्था मिलाउनु भनेर जिम्मा दिएका छौँ ।’

काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृत राजु कुमार खतिवडाले भने आयोगका तर्फबाट पानी परे के गर्ने भन्ने खालकाे तयारीस्वरूप कुनै व्यवस्था नभएकाे बताए । उनले आयोगले  त्रिपाल किन्ने बजेटसम्म नदिएकोमा आक्रोश व्यक्त गरे । उनले भने, ‘पानी परे मतदातालाई पनि निर्वाचन आयोग पठाइदिनु पर्ला । नत्र के गर्न सकिन्छ र पैसा नै नदिएपछि ?’

निर्वाचन आयोगको कार्यालय भरतपुर चितवनकी प्रवक्ता लक्ष्मी ढकालले आफूहरूले पानी परेमा के गर्ने भन्ने बारे कुनै तयारी नगरेको जानकारी दिइन् ।

त्यस्तै, निर्वाचन कार्यालय सिन्धुपाल्चोकले पनि पानी परेका के गर्ने भन्नेमा योजना नै नरहेको जानकारी दिएको छ ।

निर्वाचन आयोगको कार्यालय रुकुम पश्चिमले पानी परिहालेमा पनि स्थानीय तहले केही व्यवस्था गर्ने बताएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *