बनेन पोखरा बसपार्क

पोखरा । पोखरा बसपार्कका लागि जग्गा अधिग्रहण हुँदा हाल मेयरका आकांक्षी कृष्ण थापा १६ वर्षका थिए भने अर्का आकांक्षी धनराज आचार्य ६ वर्षका । २०३२ सालमा तत्कालीन अञ्चलाधीश तथा नगर योजनाका अध्यक्ष शंकरराज पाठक र योजनविद् पदमबहादुर क्षेत्रीले पृथ्वीचोकमा करिब २ सय रोपनी जग्गा बसपार्कका लागि छुट्याएका हुन् । थापा तत्कालीन पोखरा नगरपालिकाको उपमेयरमा २०४९ मा पराजित भए, २०५४ मा मेयर जिते । त्यतिबेला पनि उनको प्रमुख एजेन्डा बसपार्क निर्माण थियो ।

२०७० सालमा कास्की क्षेत्र नम्बर २ बाट चुनाव लडेका थापाको घोषणापत्रमा पनि बसपार्क छुटेको छैन । उनी २०७४ मा पोखराको घोषणापत्र लेख्ने प्रमुख व्यक्ति हुन् । उनले लेखेका उक्त घोषणापत्रमा बसपार्क निर्माण छुटेन । त्यसपछि २०७४ को प्रदेशसभामा उनी आफै चुनाव लडे । उनको पार्टी (नेकपा एमाले) ले बसपार्क निर्माणको योजनालाई सधैँ सम्झिएको छ । थापा २०५१ सालमा पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष पनि भए । नगर विकासकै नाममा रहेको उक्त जग्गामा अहिले सुकुम्वासी भरिएका छन् ।

हरेक चुनावमा यहाँका जनप्रतिनिधि उम्मेदवारको प्रमुख चुनावी एजेन्डा बन्छ, यही बसपार्क । स्थानीय, प्रदेश देखि प्रतिनिधिसभाका उम्मेदवारहरूले समेत बसपार्कलाई चुनावी नारा बनाउँछन् । तर चुनाव जितेपछि एकपटक फर्केर पनि हेर्दैनन् । व्यवस्थित बसपार्कका लागि छुट्याएको जग्गा नै अहिले अव्यवस्थित छ । बसपार्क नहुँदा सडकबाटै यात्रु चढाउने र झार्छन्, यातायात व्यवसायीहरू ।

यो ठाउँमा कति परिवार सुकुम्वासी छ भन्ने कुनै रेकर्ड छैन । १ सय ९६ रोपनी अधिग्रहण गरिएको पूरा जग्गामध्ये अहिले १ सय रोपनीभन्दा कम भइसक्यो । नगर विकास समितिकै पदाधिकारीले बसपार्क निर्माणका लागि अधिग्रहण भएको जग्गा घडेरी बनाएर बेचेपछि साँघुरिएको हो । त्यसबाहेक राजनीतिक दलहरूले पनि आफू निकटका कार्यकर्ताहरूलाई त्यहाँ राखेका छन् ।

अहिले चलिरहेको एयरपोर्ट स्तरोन्नति गर्दा त्यहाँ रहेका व्यवसायीलाई बसपार्कको जग्गामा राखियो । तत्कालीन समयमा ७४ परिवारलाई सहुलियत दरमा घडेरी दिइएको रेकर्ड छ । त्यसपछि पृथ्वी राजमार्गको सडक मापदण्ड, पोखरा विमानस्थलबाट सारिएका र केही जग्गाधनीलाई सट्टा जग्गा दिँदा अधिग्रहण गरिएको २ सय ५ रोपनी जग्गा घुम्रिएर १ सय मा झरेको छ ।

सेती नदी किनारमा ध्वाजा फाटेको भनिएको ६८ रोपनी जग्गामा सुकुम्वासीको नाममा अतिक्रमण भएको छ । बसपार्कको चारैतिर बिना नक्सा २ सय भन्दा बढी पक्की घर बनाइएका छन् । पटक पटक बनेका अध्यक्षहरूले पश्चिम र दक्षिणतर्फका ४२ वटा घडेरीलाई ३ लाख र पूर्वतर्फका ३२ वटा घडेरी १ लाख ८० हजारका दरमा बिक्री गरेका थिए । त्यस क्षेत्रमा हाल ४ सय ५४ जना सुकुम्वासी छन् ।

पोखरा महानगर बनिसकेपछि केही चरण बसपार्कको बारेमा छलफल त भएको छ तर टुंगो लागेको छैन । यसैका लागि १६ नम्बर वडाका अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको थियो । समितिले एउटा प्रतिवेदन बुझाए पनि त्यो कार्यान्वयनमा गएन ।

वडाध्यक्ष रामराज लामिछाने महानगरसँग बसपार्क बनाउने मानसिकता नै नरहेको बताउँछन् । ‘त्यहाँ बसपार्क बनायो भने भोट घट्छ भन्ने मानसिकता महानगरका अहिलेका मेयर, उपमेयरको छ । पार्टीका मान्छे संरक्षण गरेर राखिएको छ, त्यहाँ,’ उनले भने, ‘मैले वडाको तर्फबाट धेरै पहल गरेँ । मेरा कुरा सुनुवाइ भएन ।’

सोही बसपार्कमा बस्दै आएकी रूपा केसी सरकारकै कमजोरीले बसपार्क नबनेको बताउँछिन् । ‘हामी विकासको विरोधी होइनौँ । तर हाम्रो उचित व्यवस्थापन त गर्नुपर्याे नि,’ उनले भनिन्, ‘अहिलेका पार्टीहरूले बसपार्क बनाउन सक्दैनन् । किनकी उनीहरूको कार्यकर्ता यहाँ छन् । भोट नआउने डर छ ।’

कहिलेकाहीँ बसपार्क बनाउने होहल्ला सुनेपछि त्यहाँका सुकुम्वासीलाई टाउको दुख्छ । उनीहरू राजनीतिक दलका नेताहरू भेट्नेदेखि आन्दोलन समेत गर्न थाल्छन् । राज्यले उनीहरूलाई उपयुक्त विकल्प दिन नसक्दा बसपार्क नबनेको अधिकांश सुकुम्वासीको भनाइ छ । अहिले प्रमुख दुवै उम्मेदवारका घोषणापत्रमा पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माण गर्ने योजना समेटिएको छ । तर कार्यान्वयनमा कोही विश्वस्त छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *