जसपाका बागी उम्मेदवार यादव भन्छन्, पहाडे विरोधी उपेन्द्रले छोरो जिताउन गठबन्धन गरे (अन्तर्वार्ता)

विराटनगर । विराटनगर महानगरपालिकामा मेयरमा १३ जना प्रतिस्पर्धामा छन् । यी प्रतिस्पर्धी मध्येपनि गठबन्धन दल, एमाले र स्वतन्त्रका बिचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगरमा १४ हजार मत ल्याएर पनि हार बेहोरेका उमेश यादव यो पटक स्वतन्त्र उम्मेदवार बनेका छन् । जनता समाजवादी पार्टीबाट पार्टी परित्याग गरी उनी अहिले चुनावी मैदानमा छन् । उनी यो पटकको निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयर जित्ने दाबी गरेका छन् ।

उपेन्द्र यादवले छोरालाई उपमेयर बनाउनको लागि गठबन्धन गराएको आरोप लगाएका उमेशले नागरिकको इच्छाअनुसारको काम गर्ने बताएका छन् । विराटनगरको विकास, नागरिकका चाहना र आवश्यकतालाई कसरी पुरा गर्लान् त, यो बारेमा मकालुखबरले कुराकानी गरेको छ । उनीसँग गरिएको कुराकानीको सारसंक्षेपः

तपाईं स्वतन्त्र उम्मेदवार चुनावी अभियान कसरी चल्दैछ ?

चुनावी माहौल राम्रो बन्दैछ । हामी यो पटक चुनाव जित्दैछौँ । गठबन्धनलाई स्वीकार गर्नु हुँदैन, यदि गठबन्धनले चुनाव जित्यो भने नेताहरूमा मनोपोली अझ बढ्नेछ । जनताले नेतालाई सेवकको रूपमा पठाएको हुन्, राजा बन्नका लागि हैन । अहिले नेताहरू राजा बन्ने, छोरा छोरीलाई राजकुमार–राजकुमारी बनाउने र श्रीमतीलाई महारानी बनाउने प्रयास नेताहरूबाट भएकोले त्यसको विरुद्धमा यो पटक मतदाताले मलाई मतदान गर्नेछन् । यो भनेको जनताले नेता र राजनीतिक दललाई सबक सिकाउन स्वतन्त्रलाई मतदान गर्नेछन् । आगामी दिनमा नेता र दलले त्यस्ता गल्ती नगरोस् भन्नेछ ।

तपाईंंले चुनाव जित्ने आधार के हो त ?

मधेस आन्दोलनको आधार के थियो त, केही थिएन । एकारतमा मधेस आन्दोलन सुरु भएको हो । मदेसका जनताहरू रातारात आन्दोलनमा होमिएका थिए । सारा राज्यपक्ष एकातिर लागेर पनि मधेस आन्दोलन दबाउन सकेन । मतदान पनि त्यस्तै हो । मत भनेको नेताले आएर हाल्ने हैन मतदाताले आफ्ना अधिकारको प्रयोग गरेर हाल्ने हो ।

तपाईंंको चुनावशैली फरक छ भन्छन् कस्तो हो ?

म सार्वजनिक रूपमा भोट माग्दै, मिडियामा आउन खोजेको छैन । मतदान गर्ने जनताले हो । नेता र राजनीतिक दलहरूले यहाँ राज्य शक्ति, आर्थिक शक्तिको दुरूपयोग गर्दैछन् । त्यो म एक्सपोज गर्न किन जाने ? मतदान त जनता हो, म जनतासँग गएको छु । मैले हल्ला गर्दै यो ठाउँमा गएँ भनेर जाँदा अर्को दलले त्यही ठाउँमा बिगार्न जान्छन् । आज मैले देखाएको कुरा र मतदातालाई सिकाएका कुरा अर्को दिन त्यही ठाउँमा नेताहरूले प्रलोभनमा पार्ने काम गरेका छन् । मतदातालाई मात्र प्रलोभनमा पार्ने काम भएको छैन, मलाई पनि विभिन्न बहानामा प्रलोभनमा पार्ने प्रयासहरू भएका छन् ।

मलाई नै प्रलोभनमा पार्ने प्रयास गरेका छन् भने भोलि जनतामा त्यस्तो प्रलोभन हुँदैन भनेर म कसरी विश्वास गरौँ । त्यसैले म कसैलाई नदेखाई कसैलाई थाहा नदिई चुनावी अभियानमा हिँडेको छु । म जहाँ जहाँ हिँडेको छु भोलि त्यहाँको भोट बिग्रिने डरले कसैले थाहै नदिई चुनावी अभियानमा हिँड्ने गरेको छु ।

तपाईंंमाथि भएको प्रलोभनको प्रयास चैँ कस्तो खालको हो ?

धेरै खालका प्रलोभनहरू आएका छन् । राजनीतिक रूपमा तपाईं उम्मेदवारी फिर्ता लिनुस्, मलाई भोट मागी दिनुस्, तपाईं आफ्नो भोट नमाग्नुस् भन्ने हिसाबबाट बढी दबाब आएको छ । त्यस्ता कुरा उम्मेदवारहरूबाट नै प्रयास गरेको र गराएका छन् ।

तपाईंंलाई राजनीतिक थ्रेट आएको भन्ने कुरा के हो, कस्तो खालको हो ?

राजनीतिक रूपमा आएका छन् । छोड्दे, नलड, भोलि तेरो भविष्य सकिदिन्छु, तेरो भविष्य छैन भन्ने खालका कुरा आएका छन् । यो विषयमा कुरा नगरौँ भन्ने मलाई लागेको छ । क्रेटका कुरा बाहिर लगेर हैन म आफैँ पनि सामना गर्न सक्छु । जस्तोसुकै थ्रेट आएपनि म त्यहाँबाट डराउने हैन, डराउँदिन ।

आर्थिक प्रलोभनका कुराहरू बजारमा फैलाइएको छ । लोभ देखाउने, प्रलोभनमा पार्ने र डर देखाउने खालका कामहरू भएका छन् म त्यस्तो खालको मान्छे हैन । विद्यार्थी राजनीतिबाट आएको र धेरै दुख गरेर आएकोले मलाई कुनै कुराको डर छैन । आर्थिक प्रलोभनको विषयलाई बजारमा गलत हल्ला फैलाइएकोले म त्यस बारेमा कुनै गर्न चाहन्न । लोभ प्रलोभनमा पर्ने र थ्रेटसँग डराउने मान्छे म हैन । जनताभन्दा मेरो ठुलो कोही छैन, जनतासँग झुक्ने हो, जनताको सेवा गर्नको लागि म आएको हो ।

तपाईंंको उम्मेदवारीले गठबन्धन किन डराएको हो ?

राजनीतिक दलहरूले गलत निर्णय गरेको हो, त्यही भएर उनीहरू सलबलाउने र म सँग डराउने काम गरेका छन् । गलत काम भएको छ, जबरजस्ती जनतामाथि गठबन्धन लाद्ने प्रयास गरेकोले उनीहरू डराएको हुनु पर्छ । आजको विराटनगर को अवस्था हेरौँ, जसपाले मेयरमा किन भाग लिएन, जसपा पार्टीको उम्मेदवार थिएनन् त ? कसैको छोरा छोरीलाई उम्मेदवार बनाउन जसपा पार्टी बनेको हैन । आज मेयर जित्ने ठाउँमा उपमेयर लिएर चित्त बुझाउनु पर्ने अवस्था एउटा नेताले आफ्नो छोरालाई स्थापित गर्नको लागि गर्‍यो । यस्ताले मधेस र मधेसीको लागि के राजनीति गर्नु, यो त मधेसी जनतासँग गद्दारी गरेको हो ।

उपेन्द्र यादव हिजो म काम गर्ने राजनीतिक दलमा हुनुहुन्थ्यो । हिजो तिनै व्यक्ति मधेस आन्दोलनको नाममा मधेसी पहाडेको नारा लगाएर हिँडेका थिए । २०७० सालमा मेरो श्रीमती पहाडे हो भनेर मलाई फोरमले उम्मेदवारी नदिएका उपेन्द्र यादव आज छोरालाई उपमेयर बनाउनको लागि पहाडेलाई भोट मागेर हिँडेका छन् । यस्ता गतिविधिहरू गर्नेलाई जनताले पत्याउँदैनन्, अब जनता सचेत भइसकेका छन् । आज छोरालाई जिताउनको लागि जस्ता खालका कामहरू भएको छ त्यो जनताले देखाइदिने छ ।

म त २०५६ साल देखि समावेशी भएर हिँडेको हो नि, मैले पहाडे श्रीमती बिहे गरेर मलाई २०७० सालमा एक्ल्याइएको थियो ।

तपाईंंको असन्तुष्टि नेतासँग हो की गठबन्धनसँग, टिकट नपाउँदाको असन्तुष्टि भन्छन् नि ?

मेरो गठबन्धनसँगको असन्तुष्टि हो । दलहरूले गठबन्धनको नाममा आफ्नो छोराछोरी, श्रीमतीलाई स्थापित गर्ने एउटा षड्यन्त्र गरेका हुन् । विराटनगर मा गठबन्धनको आवश्यकता थिएन । यदि एमालेको विरुद्धमा गठबन्धन गर्नु परेको हो भने विराटनगरमा एमालेको जित्ने आधार नै नभएको ठाउँमा के को गठबन्धन हुन्छ ? गठबन्धन नै गर्नु पर्ने थियो भने, पार्टीमा योगदान दिएका, जसपामा लागेका, आन्दोलनमा हिँडेका, जेलनेल भोगेका नेताहरू उम्मेदवार बनाउन लायक थिएन र ? किन नेताको छोरालाई नै ल्याइयो , त्यसैको विरुद्धमा मेरो असन्तुष्टि र अभियान हो ।

जसपाको बागी मेयर तपाईं र माओवादीको बागी उपमेयर नमिता बिचको तालमेल के हो ?

तालमेलको हिसाबले हामी चुनावमा आएको हैन । मैले मेयरमा उम्मेदवारी दिएँ, उहाँले उपमेयरमा उम्मेदवारी दिनु भएको रहेछ । चुनाव चिन्ह लिन जाने दिन संयोगले उहाँको र मेरो चुनाव चिन्ह एउटै परेको हो । जनताले गठबन्धन गरेर हिँड् भन्ने खालको संकेत आएको कारणले अब हामी यसलाई गठबन्धन बनाएर जानेगरि अघि बढेका छौँ । हामीले संयुक्त चुनाव प्रचार नगरे पनि एकले अर्कोलाई सहयोग गर्ने गरी हामी चुनावी अभियानमा हिँडेका छौँ ।

तपाईंंलाई किन मत दिने नागरिकले ?

विराटनगरमा अहिलेसम्म कांग्रेस र एमालेले थुप्रै पटक शासन गरेका छन् । राजनीतिक दलहरूले के दिए त जनतालाई । स्वतन्त्र व्यक्ति, किसानको छोरो, जो यहाँको धर्ती पुत्र हुन्, जसले गरिब जनताको समस्या बुझेको छ, आफू पनि गरिबीमा बिताएको कारणले सामान्य परिवारको छोरो भएकोले जनताको भावना अनुसार काम गर्छ भनेर जनताले भोट दिन्छन् ।
मेरो घोषणा पत्र हेर्नुस् मैले सपना देखाउने गरी केही ल्याएको छैन । नागरिकलाई ठूला ठूला सपना देखाएर मात्र हुँदैन काम गरेर देखाउन सक्नु पर्छ । विराटनगरको स्राेतले भ्याउने खालका योजना अघि सार्नका लागि स्वास्थ्य, शिक्षा, खानेपानी, बाढी र तटबन्ध नियन्त्रण, शौचालय, सरसफाइ, सकुम्बासीका कुरा उठाएको छु । पहिला स्मार्ट सिटीको नारा लगाउने तिनै राजनीतिक दलहरू अहिले मैले उठाएको कुरा गर्दै हिँडेका छन् । महानगरपालिकाको स्राेतले भ्याएसम्मको काम मैले गर्छु, त्यही अनुसारको बाचा नागरिकसँग गरेको छु ।

चुनाव जित्छु जस्तो लाग्छ ?

यहाँका नागरिक मेरो पक्षमा छन्, मैले चुनाव जित्दैछु ।

भिडिओ
सम्बन्धितः

मेयरका उम्मेदवार कोइरालाको दाबी- विराटनगरलाई मुलुककै नमूना महानगर बनाउँछु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *